फोटो क्याप्सन : बालिकाको शव फेला परेको घटनास्थल ।विराटनगर । मोरङको धनपालथानमा नाबालिकाको हत्या भएको छ । बलात्कारपछि हत्या गरिएको आशंका प्रहरीको छ ।
प्रहरीका अनुसार धनपालथान गाउँपालिका–६ बबियाका अक्षय सरदारकी छोरी ५ वर्षीया आत्तिका सरदारको हत्या भएको हो । अभिभावकसँगै सुतिरहेकी नाबालिका शनिबार बिहानका राति ३ बजेतिर बेपत्ता भएको जानकारी प्रहरीले प्राप्त गरेको थियो ।
घरमा सुतिरहेकी बालिका हराएको जानकारी अभिभावक र आफन्तले बिहान ५ बजेतिर प्रहरी चौकी कर्सियामा गराएका हुन् । घरबाट करिब सय मिटर पर रहेको दुर्गा अधारभूत विद्यालयको बाहिर बाटोको छेउमा बालिकाको शव फेला परेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।
घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय रंगेलीबाट इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी र जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर सरोज खनाल नेतृत्वको टोली घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले बलात्कारपछि बालिकाको हत्या भएको देखाएको छ । यद्यपि, पुष्टि हुन बाँकी छ ।
कानुनी प्रक्रिया पूरा गरी घटनास्थलबाट शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । अनुहार, घाँटीलगायत शरीरका विभिन्न भाग चोट रहेको अवस्थामा नाबालिकाको शव फेला परेको डीएसपी चुँडालले बताइन् ।
‘घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरेजस्तो देखिन्छ । अनुहार, घाँटीलगायत शरीरका विभिन्न भागमा चोटपटक छ । घटनाको थप अनुसन्धान भइरहेको छ,’ प्रहरी स्रोतले भन्यो ।

























