
विराटनगर । जननेता मदनकुमार भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा विराटनगरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा पोखरिया माध्यमिक विद्यालयकी छात्रा सिम्रन सफल मैनाली प्रथम भएकी छन् ।
नेकपा (एमाले) विराटनगर महानगर कमिटीको आयोजनामा शनिबार बिहान भएको प्रतियोगितामा सत्यनारायण माविकी छात्रा उमाकुमारी न्यौपाने द्धितीय र सगरमाथा बोर्डिङ स्कुलका छात्र प्रिन्सकुमार साह तृतीय भए । सगरमाथा बोर्डिङ स्कुलकी छात्रा आरध्या कर्णले सान्त्वना स्थान हासिल गरिन् ।
एमाले विराटनगर महानगर कमिटी सचिव विज्ञान चापागाईंका अनुसार प्रतियोगितामा ६ वटा विद्यालयका १० जना छात्रछात्राले भाग लिएका थिए । ‘लोकतान्त्रिक आन्दोलनमा मदनकुमार भण्डारीको योगदान’ विषयक अन्तर विद्यालयस्तरीय वक्तृत्वकलाको आयोजना गरिएको चापागाईंको भनाइ छ ।
विजयी भएका विद्यार्थीहरुलाई शनिबार नै पुरस्कार वितरण गरिएको छ । प्रतियोगितामा वरिष्ठ साहित्कार तथा शिक्षाविद् हरिप्रसाद बराल, सामाजिक अभियन्ता एवं पूर्वशिक्षक दिनेशकुमार श्रेष्ठ र साहित्यकार एवं शिक्षिका कविता काफ्नो (केसरी)ले निर्णयकको भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रममा एमाले विराटनगर अध्यक्ष बलराम गिरी (नवीन)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं मोरङ इन्चार्ज जीवन घिमिरे, केन्द्रीय सदस्य रामलाल साह, कोशी प्रदेश कमिटी सचिवालय सदस्य एवं विराटनगर महानगर इन्चार्ज पर्शुराम बस्नेत, मोरङ उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापालगायतको उपस्थिति थियो ।























