धान दिवस : किसानको दुखःमा नेताको ‘फोटोसुट’

मुलुकी खबर
सुजता लिम्बू
clock२०८२ असार १५, आइतबार २०:३३

विराटनगर । हरियो डाँडामाथि, हलो जोत्ने साथी…

यो भाकाको गीतले एकछिन भएपनि गाउँको भिर, हिलो, पसिना र खेतमा हाँस्दै गुञ्जिने महिलाहरुको स्वर मानसपटलमा आउँथ्यो । असार १५ परम्परागत नेपाली कृषि पर्व, धान रोपाइँको बेला रेडियोमा बज्ने गीतले हिलोको सुवास र गीतको लयसँगै संस्कृति गाँसिएको अनुभूति हुन्थ्यो । तर, विगतका यी महसुस र महत्व घट्दै जान थालेको छ ।

Advertisement

पछिल्ला केही वर्षमा विगतका परम्परा डिजिटल र भिजुअल ‘कन्टेन्ट’ मा बदलिन थालेको छ। सहरबाट एकदिन अर्थात, असार १५ का दिन गाउँ पसेर खेतमा एकछिन हिलोमा रमाउँछन् । तस्बिर खिच्छन्, टिकटक बनाउँछन्, अनि असार १५ का दिन धान रोपाइँ भन्दै फोटो, भिडियो ‘अपलोड’ गर्छन् ।

यसरी धान रोपाइँको मौलिकता एक किसिमको ‘इभेन्ट’जस्तै बन्न थालेको सरोकारवालाहरु बताउँछन् ।

कृषि प्रधान देशको परिचय बोकेको नेपाली समाजमा कृषक भने अझै पनि हिलोमै गाडिरहेको र असार १५ को एक दिनको रमाइलोले उनीहरूको वर्षैभरिको दुःख लुकाउन नसक्ने उनीहरुको तर्क छ । बजारको असमान मूल्य, मल र बीउको अभाव, असिनापानी र बाढीको जोखिम यी समस्या तस्बिरमा नसमेटिने उनीहरु बताउँछन् ।

असार १५ मा धान रोप्ने र फोटो खिच्ने चलन इतिहाससँग नजोडिएकाले केही वर्षदेखि मात्रै प्रचलनमा आएको मुन्धुमविद् यासेली योङहाङ बताउँछन् । ‘पहिले थिएन यस्तो चलन, तत्कालीन कृषिमन्त्री हरिप्रसाद पराजुलीको कार्याकालदेखि सुरु भएको हो । त्यसपछि गमलामा धान रोपेर पनि देखाए ,’ उनले भने ।

खेतमा मन्त्री, नेताहरु ल्याएर फोटो खिचाउँदै समाजिक सञ्जालमा पोष्ट गर्ने चलनले साँच्चैको कृषकहरुलाई गिज्याएजस्तो हुने उनको भनाइ छ। ‘नेताहरु खेतमा लगेर फोटो खिचाउने समाजिक सञ्जाल, फेसबुक, टिकटकमा पोष्ट गर्ने गर्दा रियल कृषकहरुको पेसालाई गिज्याएको जस्तो हुन्छ,’ उनले भने ,‘कहिल्यै खेत नदेखेको हिलो, आली नदेखेका, धानको ब्याड नै राखेको हुँदैन उसलाई धान रोप्नुपर्ने ? उसैले दहीचिउरा, केरा खानुपर्ने ? ‘रियल’ किसानहरुलाई त यो सबै गर्न फुर्सद नै हुँदैन । असारमा कृषकलाई चटारो हुन्छ । यहाँ त सहरीयाहरुले जिस्काएको हो ।’

असार १५ मा दही चिउरा खाने प्रचलन आयातित रहको समेत उनले बताए । उनले भने, ‘दही चिउराको इतिहास अगाडि देखिको होइन् ।’ बेठी (ज्याला वा पैसा बिनाको काम भन्ने परिभाषा गरिएको छ ) प्रचलनबाट नै परिमार्जित भएर अहिलेको असार १५ भएको उनले बताए ।

‘यो चलन त सामन्तहरुले प्रयोग गर्ने हो । उनीहरुको घरमा जम्मा गर्ने बाजा बजाउन लगाउने आफू कुर्सीमा बसेर हेर्ने,’उनले भने,’ उहिले सामन्त प्रथा ‘बेठी’ लगाउने थियो । यो प्रचलन सामन्त प्रथाको ज्वलन्त प्रथा हो । त्यसकैको नमुना हो भन्दा फरक पर्दैन ।’ लिम्बू समुदायको धानसँग प्रसस्त सम्बन्ध भएपनि दही चिउरा मुन्धुमसँग सम्बन्ध नभएको उनको भनाइ छ ।

असार १५ केवल खेतमा हिलो छ्यापाछ्याप गर्ने, फोटो खिच्ने पर्व नभएको बताउँदै उनले यो दिन किसानको त्याग, परिश्रम र धैर्यलाई सम्झने दिन रहेको बताए । लेखक तथा विश्लेषक भवानी बरालले पछिल्लो समय असार १५ मा मनाइने धान रोपाइँ कार्यक्रम सस्तो ‘लोकरिझ्याँइ’ भएको बताउँछन् ।

यसले किसानी श्रम परम्परालाई उत्साहित नबनाउने बताउँदै उनले भने, ‘केही समय अगाडि कृषिमन्त्री हरिप्रसाद पराजुलीले गरेको हर्कत यहाँ सम्झनु पर्ने हुन्छ ।’ ‘पहिले रोपाइँको समय सबैलाई सघाउने किसिमको थियो । पछि यो विकृत हुँदै गएको हो । यसैले बेठी प्रथा सामान्तीकरण भयो । सामन्तहरुले यो प्रथालाई ‘हाइज्याक’ गरेर भ्रष्टिकरण गरे,’ उनले भने ।

बेठीलाई रैती बासिन्दाले जमिन्दार वा थरी (मुखियालाई) बुझाउने रकम वा खेतालापातमा परिभाषित गरिएको बताउँदै उनले भने, ‘वास्तवमा रोपाँमा पञ्चैबाजा बजाइ, भोज खुवाइ गरिने श्रमको उत्सव हो ।’ खेतमा पुगेर एकदिनको रमाइलो गर्नेहरूका लागि यो ‘अनुभव’ रहेको र खेतको हिलोमा टेकेर ‘नेचर लभर’ बन्ने, लोकगीतको भाकामा स्टोरी हाल्ने, अनि साँझ सहर फर्किएर सफा जुत्ता र ब्राण्डेड लुगा फेर्ने उनीहरूको लागि यो एक विशेष दिन मात्रै भएको उनले बताए ।

असार १५ मा ‘धान दिवस’ भनेर कार्यक्रमको आयोजना हुन्छ । मन्त्रीदेखि सेलिब्रेटीहरू हिलोमा छिर्छन् । मिडियामा अगाडि आउँछन्। तर, त्यो दिनको फोटो रमाइलोभन्दा पर, किसानको जीवन र व्यथा हेर्ने नजर कमैमा देखिन्छ । त्यसो त कृषकहरुको सवालमा सरकारको भूमिका कमाजेर देखिएको भन्दै सदनमा सांसदहमा विषय उठान गरिरहेका हुन्छन् ।

कृषि अनुदानका नारा बर्सन्छन् । मलको अभावले किसानलाई समस्या पनि उत्तिकै पिरोलेको छ । तर, एकदिने दिवस मनाएर बिदा भएका नेताहरु फेरि कृषि पेसा र किसानका चुनौतीको विषय बुझ्न फर्किएर खेतमा पुग्दैनन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.