एजेन्सी। कम्बोडियासँगको विवादलाई लिएर थाइल्यान्डमा राजनीतिक भुइँचालो आएको छ । प्रधानमन्त्री पेटोङटार्न सिनावात्रा मंगलबार निलम्बनमा परेपछि थाइल्यान्डको सत्ता संरचना फेरि एकपटक डगमगाएको हो ।
मुलुकको संवैधानिक अदालतले सीमा विवादका क्रममा मन्त्रीस्तरीय नैतिकता उल्लंघन भएको आशंकामा उनलाई पदमुक्त गर्दै अनुसन्धान प्रारम्भ गरेको हो । सत्तामा आएको १ वर्ष नपुग्दै ३८ वर्षीया पेटोङटार्नले सैन्य सत्ताको गहिरो शत्रुताको सामना गर्नु परेको छ । उनको परिवार, विशेषतः उनका बुबा र पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा विगत २ दशकदेखि थाइल्यान्डको परम्परावादी सत्ता केन्द्रका लागि चुनौती मानिँदै आएका छन् ।
त्यसपछि पेटोङटार्नले सत्ता सम्हालिन् । प्रधानमन्त्रीको कुर्सी उनले सम्हालेयता राजनीतिक द्वन्द्वको अर्को अध्याय सुरु हुने निश्चित भइसकेको थियो ।
कम्बोडियासँग सीमा क्षेत्रमा भएको सैन्य झडप र त्यसपछिको कूटनीतिक व्यवहारकै कारण उनलाई अहिले प्रधानमन्त्री पदबाट निलम्बन गरियो । झडपमा १ जना कम्बोडियाली सैनिक मारिएपछि तनाव बढेको थियो । यसैबीच, लिक भएको एक गोप्य अडियोले परिस्थिति जटिल बनायो ।
गोप्य बैठकको रेकर्डिङमा प्रधानमन्त्री पेटोङटार्नले कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनलाई ‘काका’ सम्बोधन गरेकी थिइन् । त्यही वार्तामा उनले थाइल्यान्डका १ वरिष्ठ सैन्य अधिकृतलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ भनेको पनि सुनिएको छ । यही अभिव्यक्तिले संसद, सेना र शाही पक्षलाई आक्रोशित बनायो ।
यसपछि रूढीवादी सांसदहरूले उनलाई देशको प्रतिष्ठा घटाएको, सेना कमजोर बनाएको र संवैधानिक नैतिकता उल्लंघन गरेको भन्दै कारबाहीको माग गरे । अदालतले त्यही मागअनुसार अनुसन्धान अघि बढाएको हो । अदालतले स्पष्ट रूपमा लेखेको छ, ‘पेटोङटार्नलाई जुलाई १ देखि संवैधानिक अदालतको निर्णय आउञ्जेलसम्म प्रधानमन्त्रीको कार्यभारबाट निलम्बन गरिन्छ ।’
यही काण्डकै कारण उनको पार्टी ‘फेउ थाई’ ले १ जना मुख्य गठबन्धन साझेदार गुमाइसकेको छ । पार्टीभित्र असन्तोष बढेको छ । बाहिर जनविद्रोहले चर्को रूप लिएको छ । यसअघि हजारौँ प्रदर्शनकारीले बैंककका सडकमा उत्रिएर उनको राजीनाको माग गरेका थिए ।
राजनीतिक संकट बढ्दै गएपछि मंगलबार थाई राजाले मन्त्रिपरिषद् पुनर्गठन अनुमोदन गरेका छन् । पेटोङटार्नले आफूलाई संस्कृति मन्त्रीको जिम्मेवारी तोकेको जनाइएको छ । यो निर्णयलाई केहीले ‘सत्ता जोगाउने प्रयास’ भनेर व्याख्या गरेका छन् । तर, संवैधानिक अदालतको अनुसन्धान जारी रहँदा उनले नयाँ पद सम्हाल्न पाउने कि नपाउने भन्ने अझै अन्योलमै छ ।
उता, पेटोङटार्नमाथिको निलम्बनको झट्कासँगै उनका बुवा थाक्सिन सिनावात्रा पनि न्यायिक फन्दामा तानिएका छन् । मंगलबार उनी बैंककको १ विशेष अदालतमा शाही मानहानिसम्बन्धी मुद्दामा उपस्थित भए । सन् २०१५ मा दक्षिण कोरियाली मिडियालाई दिएको अन्तर्वार्तामा थाई राजतन्त्रप्रति दिएको भनिएको टिप्पणीका कारण उनीमाथि अब राजद्रोहको मुद्दा चल्नेछ ।
यदि दोषी ठहरिए उनलाई १५ वर्षसम्मको जेल सजाय हुन सक्छ । अदालतले मिडियालाई भित्र छिर्न नदिए पनि थाक्सिनको मुद्दा औपचारिक रूपमा सुरु भइसकेको छ । उनका वकिल विन्यात चाटमोन्ट्रीले अदालत बाहिर भने, ‘म उहाँको भावनाका बारेमा ठोकुवा गर्न सक्दिनँ । तर, उहाँ शान्त देखिनु हुन्थ्यो ।’
सिनावात्रा परिवार थाइल्यान्डको राजनीतिमा सुधारवादी धारको प्रतिनिधित्व गर्छ । तर, यो परिवारलाई विगतदेखि नै शाही र सैनिक शक्तिले ‘संवैधानिक व्यवस्था र परम्पराको खतरा’ भनेर हेर्दै आएका छन् ।
राजनीतिक विश्लेषक थिटिनान पोङ्सुधिरकको विश्लेषणमा, ‘दुबै घटना प्रधानमन्त्रीको निलम्बन र थाक्सिनमाथिको मुद्दा आपसमा गहिरो सम्बन्धित छन् । सिनावात्रा ब्रान्ड अहिले गम्भीर संकटमा छ ।’
थाइल्यान्डको समकालीन राजनीतिमा यति ठूलो व्यक्तिगत र पारिवारिक हमला सायदै पहिले देखिएको थियो । यो क्रम यतिमै थामिने छैन भन्ने स्पष्ट छ । अदालतको अन्तिम निर्णय आउन बाँकी छ । थाक्सिनमाथिको मुद्दा हप्ताौँसम्म चल्नेछ ।
तर, यतिबेला चाहिँ राजनीतिक संकटको केन्द्रमा पेटोङटार्न मात्रै नभएर सिंगो सिनावात्रा वंश एकैचोटी घेरिएको छ । थाइल्यान्डको शक्ति सन्तुलन फेरि एकपटक सिनावात्राविहीन बन्ने संकेत देखिन थालेको छ ।