
एजेन्सी। शक्तिशाली टाइफुन ‘नौल’ दक्षिणी चीनको तटीय क्षेत्रमा ठोक्किएको छ। तीव्र हावा र भारी वर्षाका कारण विशेष गरी हङकङ र ग्वाङ्डोङ प्रान्तको जनजीवन प्रभावित बनेको छ । ग्वाङ्डोङमा लाखौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
चीनको राष्ट्रिय मौसम केन्द्रका अनुसार टाइफुन आइतबार बिहान स्थानीय समय अनुसार करिब ३स्५० बजे दक्षिणी ग्वाङ्डोङ प्रान्तको हुइझोउ सहरअन्तर्गत हुइदोङ काउन्टीको तटीय क्षेत्रबाट भूभागमा प्रवेश गरेको हो ।
सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार यो यस वर्ष चीनको भूभागमा प्रवेश गरेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली टाइफुन हो । हङकङ मौसम वेधशालाका अनुसार टाइफुनको केन्द्रनजिक अधिकतम ११० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको छ ।
तटीय क्षेत्रमा ठोक्किएपछि ग्वाङ्डोङको भित्री भूभागतर्फ अघि बढ्दै यो क्रमशः कमजोर बन्दै गएको छ । यद्यपि यसले तीव्र हावा र भारी वर्षा भने गराइरहेको छ । चीन राष्ट्रिय रेडियोका अनुसार जोखिम क्षेत्रमा रहेका ७ लाख १५ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
यसअघि शनिबार मात्रै करिब ३ लाख ४० हजार मानिसको उद्धार गरिएको थियो । राष्ट्रिय मौसम केन्द्रले साताको अन्त्यसम्म ग्वाङ्डोङको दक्षिणी भाग र फुजियान प्रान्तको दक्षिणपूर्वी क्षेत्रमा भारी वर्षा र शक्तिशाली हावाको चेतावनी जारी राखेको छ ।
सरकारी टेलिभिजन सीसीटीभीका अनुसार ग्वाङ्डोङको तटीय हुइलाई काउन्टीमा हावाले धेरै रूखहरू ढालेको छ । उता हङकङ विमानस्थल प्राधिकरणका अनुसार टाइफुनका कारण आइतबार करिब ३५० उडान रद्द भएका छन् ।
आँधी र वर्षाका कारण सहरभर कम्तीमा नौ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । ताइवानको केन्द्रीय मौसम प्रशासनका अनुसार नौलले दक्षिणी र पूर्वी ताइवानका केही क्षेत्रमा समेत वर्षा गराएको छ ।
शनिबार ताइवानको दक्षिणी समुद्री क्षेत्र हुँदै यो आँधी टापुबाट टाढा धकेलिएको थियो । यसअघि गत जुलाई ११ मा आएको टाइफुन ‘बाभी’ का कारण पूर्वी चीनमा तीव्र हावा र वर्षा हुँदा २० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो ।

























