
एजेन्सी । भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएपछि एक महिनाभन्दा बढी समयदेखि नयाँ दिल्लीको जन्तर मन्तरमा जारी कक्रोच जनता पार्टी (सिजेपी)को आन्दोलन शनिबारदेखि औपचारिक रूपमा समाप्त भएको छ ।
शनिबार शिक्षामन्त्री प्रधानले सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामाको घोषणा गरेपछि पार्टीले आन्दोलन फिर्ता लिएको हो । उनीविरुद्ध नीट परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर सिजेपीले ३६ दिनदेखि जन्तर मन्तरमा निरन्तर प्रदर्शन गर्दै आएको थियो । आन्दोलनकारीले शिक्षामन्त्रीको राजीनामा, आन्दोलनका क्रममा पक्राउ परेका तथा मुद्दा लगाइएका सबै प्रदर्शनकारीमाथिका मुद्दा फिर्ता लिनुपर्ने र नीट परीक्षाका कारण प्रभावित परिवारलाई प्रतिपरिवार १–१ करोड रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राख्दै आएका थिए ।
केन्द्रीय सरकारसँग भएको तेस्रो चरणको वार्तापछि सरकार र सिजेपीबीच सहमति भएको घोषणा गरिएको हो । वार्तापछि केन्द्रीय मन्त्री जेपी नड्डा, जितेन्द्र सिंह तथा सिजेपीका प्रवक्ता सौरभ दास र आशुतोष राङ्काले संयुक्त पत्रकार सम्मेलन गर्दै आन्दोलन तत्काल लागू हुने गरी फिर्ता लिइएको जानकारी दिएका हुन् ।

सिजेपीका प्रवक्ता आशुतोष राङ्काका अनुसार सरकार आन्दोलनकारीका तीनवटै मुख्य माग पूरा गर्न सहमत भएको छ । सहमतिअनुसार शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । आन्दोलनकारीहरूमाथि लगाइएका सबै मुद्दा फिर्ता लिइनेछ र नीट परीक्षाबाट प्रभावित परिवारलाई प्रतिपरिवार १–१ करोड रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइनेछ ।
आन्दोलन समाप्तिको घोषणा गर्दै सिजेपीले देशभरबाट आन्दोलनमा सहभागी हुन आएका सबै प्रदर्शनकारीलाई शान्तिपूर्ण रूपमा आफ्ना घर फर्कन आग्रह गरेको छ । उता, शिक्षामन्त्रीको राजीनामापछि जन्तर मन्तर क्षेत्रमा उत्सवको माहोल देखिएको छ । आन्दोलनमा सहभागी युवा तथा विद्यार्थीहरूले एकअर्कालाई बधाई दिँदै खुसी साटासाट गरेका थिए ।
उनीहरूले ‘विद्यार्थी एकता जिन्दावाद’ लगायतका नारासमेत लगाएका थिए । साथै, नीट परीक्षाको प्रश्नपत्र चुहावटका कारण ज्यान गुमाएका विद्यार्थीहरूको सम्झनामा मौनधारण गर्दै आन्दोलनको समापन गरेका छन् ।

























