विराटनगर । विराटनगर महानगरपालिका –८ का जनप्रतिनिधिले घरमै पुगेर ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था बुझ्दै आएका छन् ।
आफ्ना वडामा भएका ज्येष्ठ नागरिकहरूको घरमै पुगेर नियमित रूपमा स्वास्थ्य अवस्था बुझ्नका लागि गत वर्षदेखि ८ नम्बर वडाले ‘ज्येष्ठ नागरिकसँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गरेको छ ।
घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिने, स्वास्थ्य परीक्षण गर्ने, सरकारले निःशुल्क उपलब्ध गराएका औषधिबारे जानकारी दिने गरेको बताउँदै, ८ नम्बर वडाका वडाध्यक्ष राम पोखरेलले भने, ‘ज्येष्ठ नागरिकको अवस्था हेरेर स्वास्थ्य सामग्री दिने गरेका छौँ । गत वर्षबाट सुरु भएको यो कार्यक्रम (अभियान ) प्रभावकारी भएपछि यस वर्ष पनि निरन्तरता दिइएको छ । वडामा कति जना ज्येष्ठ नागरिक हुनुहुन्छ भनेर हामीले लगत राख्ने गरेका छौँ ।’
अभियानअन्तर्गत १०३ वर्षीया देवी पाण्डेको घरमै पुगेर विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीसहित ८ नम्बरका जनप्रतिनिधि, स्वास्थ्यका कर्मचारीको टोलीले स्वास्थ्य अवस्था बुझेका थिए ।
पाण्डेको उच्च रक्तचाप, मधुमेहको परीक्षण गरिनुका साथै १ थान पंखा प्रदान गरिएको वडाध्यक्ष पोखरेलले जानकारी दिए । यस वर्ष अभियानको सुरुवात भएको उनले बताए ।
गत वर्ष १ सय २२ जना ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।
ज्येष्ठ नागरिकसँग जनप्रतिनिधि कार्यक्रममार्फत घरमै पुगेर वडाले प्रवाह गरेका सेवाबारे जानकारी दिने, गुनासो सुन्ने, सुझाव लिने काम भइरहेको पोखरेलले बताए ।
ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था बुझ्न पुगेकी वडा सदस्य पवित्रा विश्वकर्माले वडा कार्यालयले प्रत्येक सोमबार आयोजना गर्ने आँखा शिविरबारे जानकारी दिइन् ।
भौतिक पूर्वाधारको विकाससँगै वडावासीको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गर्दै आएको वडा सदस्य भुवन राजवंशीले बताए ।
उनले वडामा नियमित स्वास्थ्य शिविर, ज्येष्ठ नागरिक दन्त उपहार कार्यक्रम प्रभावकारी भएको बताए । अभियानमा वडा सचिव मनोज मल्लिक, स्वास्थ्य शाखा प्रमुख अन्जु श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।