
बारा । संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवको बुधबार बिहान निधन भएको छ । नेपाली कांग्रेसका नेतासमेत रहेका यादवको ७२ वर्षको उमेरमा निधन भएको हो ।
उनको घर बाराको सुवर्ण गाउँपालिका– २ कवहीजगात हो । उपचारका क्रममा वीरगन्जस्थित हेल्थकेयर अस्पतालमा निधन भएको परिवारले जनाएको छ ।
लामो समयदेखि मधुमेहको समस्याबाट पीडित रहेका यादवलाई स्वास्थ्य अवस्था जटिल बनेपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । यादव २०७० सालमा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा बारा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।
यादव नेपाली कांग्रेस बाराका पूर्वजिल्ला सचिव तथा पार्टीको महासमिति सदस्य हुन् । उनका २ छोरा, १ छोरी र पत्नी छन् । बुधबार नै अन्त्येष्टि गर्ने तयारी परिवारको छ ।
























