ब्युटी पार्लरमा आत्मनिर्भता खोज्नेहरु (भिडियोसहित)

मुलुकी खबर
सुजता लिम्बू
clock२०८२ असार १८, बुधबार १२:१२

विराटनगर : धनकुटाकी निरुता खड्का २ महिनादेखि ब्युटी पार्लर सम्बन्धी कोर्ष लिइरहेकी छिन् ।

ब्युटी पार्लरमा आत्मनिर्भर बन्ने सपना बोकेर विराटनगर आएकी उनी मिनाज ब्युटी पार्लरमा सिपको नयाँ अध्यया लेख्दैछिन् । बाल्यकालदेखि नै उनको एउटा सपना थियो, आफ्नै हातले अरूलाई सजाउनु, आत्मनिर्भर बन्नु र गाउँका दिदीबहिनीलाई पनि हौसला दिनु ।

Advertisement

त्यही सपनाको उडान भर्न १२ कक्षा पास गरेपछि पार्लर सम्बन्धी तालिम लिन विराटनगर आएको उनले सुनाइन् । गाउँमै वडा कार्यालयले दिने तालिमका लागि वडा कार्यालय पनि पुगिन् । तर, उमेर नपुग्दा त्यो अवसर छुटेको उनले बताइन् ।

‘मलाई सानैदेखि पार्लर सिक्न मन थियो । गाउँमा वडा कार्यालयले पार्लर सम्बन्धी तालिम दिन्थ्यो । त्यहाँ उमेर नपुगेर तालिम लिने अवसर पाइन् ।
अहिले १२ पास गरेपछि सपना पूरा गर्न विराटनगर आएकी हुँ,’ उनले भनिन् । मिनाज ब्युटी पार्लरममा तालिम दिने जानकारी टिकटकबाट थाहा पाएको उनले बताइन् ।
उनले भनिन्, ‘यहाँ आएपछि सिकाइ सहज पनि भएको छ । समानरुपले सिकाउनु हुन्छ ।’ सहरमा आफ्नो लक्ष्य खोज्दै विराटनगर आएकी निरुता दिउँसो पार्लर सम्बन्धी तालिम लिन्छिन् । बेलुका कलेजको पढाइमा व्यस्त हुन्छिन् ।

त्यसो त जीवन उनलाई कहिल्यै यति व्यस्त र उत्साहपूर्ण लागेको थिएन । तर, लक्ष्य पछ्याउँदै सहर पसेपछि बल्ल उनले जीवनको स्वाद बुझ्न थालेकी छिन् ।

पार्लर सिकेर वैदेशिक रोजगारीमा जाने भन्दा पनि पहाड फर्किएर गाउँमा नै केही गर्ने योजना रहेको उनी सुनाउँछिन् । ‘गाउँमा सबैले घाँसदाउरा गर्छन् । बच्चा भएपछि पोतो आएको मैले पनि देखेकी छु । उहाँहरु केयर गर्नु हुन्न । उहाँहरुलाई हौसला दिन पनि मैले यो तालिम लिन चाहेकी हुँ,’ उनले भनिन् ।

पार्लर सिक्ने भन्दा गाँउमा नक्कली पेसा भन्ने गरेको उनले सुनाइन् । तर, गाउँ फर्केर उही दिदीबहिनीलाई यो पेसाका बारेमा बुझाउन र सिकाउन चाहेको उनको भनाइ छ । उनी भन्छिन्, ‘यो पेसा नक्कल पार्ने होइन । आत्मसम्मानको बाटो हो भनेर बुझाउन चाहान्छु ।’

यता, विराटनगरकी सोफिया केसी पनि पढाइसँगै आत्मनिर्भरताको अर्को पाना खोल्न अहिले ब्युटीसियन तालिममा होमिएकी छन्। विदेश जान होस् वा आफ्नै देशमा केही गर्न, सिप हुनु अनिवार्य रहेको उनको बुझाइ छ ।

उनी भन्छिन्, ‘सिप भनेको आत्मविश्वास र भविष्यको सुरक्षा हो । त्यसैले मैले यो तालिम लिएकी हुँ ।’ बिहान कलेज गएर दिउँसो उनी पार्लर सम्बन्धी तालिम लिने मिनाज ब्युटी पर्लार पुग्ने गरेको उनी सुनाउँछिन् । मिनाज ब्युटी पार्लरमा सीटीईभीटीबाट लेभल २ गरेको प्रशिक्षक भएकाले पनि पार्लरको कोर्ष सिक्न आएको उनी सुनाउँछिन् ।

यता, मिनाज ब्युटी पार्लरकी सञ्चालक तथा प्रशिक्षक भली सुब्बा आफ्नो सिप विद्यार्थीहरुलाई सिकाउन पाएकोमा गर्व गर्छिन्। आफ्नो तर्फबाट प्रशिक्षार्थीहरुलाई सय प्रतिशत नै दिन चाहेको उनी सुनाउँछिन् ।

उनको अनुसार आफूले सिकाएका केही विद्यार्थी विदेश पुगेर यही पेसाबाट भविष्य बनाइरहेका छन् । कतिले आफ्नै गाउँमा पार्लर खोलेर आत्मनिर्भर भएका छन् ।

सफल व्यवसायी बन्न केही वर्ष अनुभव लिएर र कानुनी रूपमा दर्ता गरेर मात्रै व्यवसाय सुरु गर्नुपर्नेमा उनको जोड छ । तर, पछिल्लो समय २–३ महिना मात्रै सिकेर पार्लर खोल्ने गरेका पनि पाइएको उनी बताउँछिन् । यसले व्यवसायमा केही असर गर्ने बताउँदै स्थानीय सरकारले ध्यान दिनुपर्ने सुब्बाको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.