
काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनाले नेपालमा निरन्तरता पाउने भएको छ ।
नेपालमा सञ्चालन भइरहेको ‘नेपाल कम्प्याक्ट’ कार्यक्रमलाई निरन्तरता दिने निर्णय एमसीसीले गरेको हो। अमेरिकी वैदेशिक सहायता पुनरावलोकनको सन्दर्भमा विभिन्न देशमा सहयोग रोकिने चर्चा भइरहेका बेला एमसीसीले नेपाललाई भने विशेष छुट दिँदै जारी परियोजनाहरू अगाडि बढाउन अनुमति दिएको हो ।
एमसीए नेपालले बुधबार विज्ञप्ति जारी गर्दै एमसीसीले नेपाललाई निरन्तरता पाउने निर्णय भएको जानकारी गराएको हो । उक्त विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुटअन्तर्गत एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिनका लागि अनुमति दिनेसम्बन्धी अमेरिकी सरकारबाट भएको निर्णयको एमसीए नेपालले स्वागत गरेको छ ।’
तर, निर्णय कुन मितिमा भएको हो भन्नेबारे एमसीए नेपालले विज्ञप्तिमा केही खुलाएको छैन । यद्यपि, यसअघि नै मार्च महिनामा एमसीसीले नेपाललाई पत्र लेखेर केही महत्वका खरिद तथा प्रशासनिक कार्यहरू अघि बढाउन अनुमति दिएको थियो । त्यसयता एमसीसी परियोजनाहरूको कार्यान्वयन फेरि तीव्र भएको छ ।
अमेरिकी दूतावासले यसअघि विज्ञप्ति जारी गर्दै नेपाल कम्प्याक्टको निरन्तरताको विषयमा सकारात्मक संकेत दिएको थियो । यतिबेला औपचारिक घोषणा सार्वजनिक नभए पनि सरकारी स्रोतका अनुसार नेपालसहित ५ मुलुकमा एमसीसीको परियोजना निरन्तर अघि बढाउने निर्णय भइसकेको छ ।
हाल एमसीए–नेपालले ३ वटा ४ सय केभी क्षमताका विद्युत् सबस्टेशन र १८ किमी सीमापार प्रसारण लाइन निर्माणको ठेक्का वितरण गरिसकेको छ । बाँकी २ सय ९७ किलोमिटर लम्बाइका ४ सय केभी प्रसारण लाइन, सडक स्तरोन्नति तथा अन्य पूर्वाधार निर्माणसम्बन्धी खरिद प्रक्रिया अगाडि बढाउन एमसीए नेपालले एमसीसीसँग समन्वय गरिरहेको जानकारी दिएको छ ।
विज्ञप्तिअनुसार वैदेशिक सहायता समीक्षा थालिनु अघि नै अगाडि बढिसकेका ३ सबस्टेशन र सीमापार लाइन निर्माणलाई निरन्तरता दिइएको छ । ऊर्जा तथा यातायात पूर्वाधार विकासमा यिनले दूरगामी प्रभाव पार्ने दाबी एमसीए नेपालको छ । उसले भनेको छ, ‘नेपालको ऊर्जा र यातायात क्षेत्रको विकासमा महत्वपूर्ण प्रभाव पार्ने यी पूर्वाधार आयोजनाहरू सम्पन्न गर्न प्रतिबद्ध छौं । यस कम्प्याक्ट कार्यान्वयनका लागि एमसीसीको निरन्तर साझेदारीप्रति हार्दिक आभार प्रकट गर्दछौं ।’
सुरुमा नेपाल र एमसीसीबीच भएको सम्झौताअनुसार कुल ५० करोड अमेरिकी डलर अनुदान उपलब्ध हुने उल्लेख थियो । तर, प्रसारण लाइनको लागत बढेसँगै एमसीसीको बोर्डले सन् २०२५ जनवरी २ मा थप ५ करोड अमेरिकी डलर अनुदान दिने निर्णय गरेको थियो । जसको जानकारी एमसीसीले अमेरिकी कंग्रेसलाई समेत गराइसकेको छ ।
तर, हाल अमेरिकी सरकारले नेपाललाई दिएको निरन्तरताको निर्णयमा सुरुको ५० करोड मात्रै पक्का हो वा त्यसमा हालैको ५ करोड थपिएको छ भन्ने विषयमा अझै प्रस्ट जानकारी आएको छैन । यद्यपि, एक उच्च सरकारी स्रोतले भनेको छ, ‘५० करोड डलर त निश्चित भएको हो, थपबारे भने औपचारिक पुष्टि आउन बाँकी छ ।’
एमसीसीले हालै अमेरिकाले गरिरहेको व्यापक वैदेशिक सहायता समीक्षाका बीचमा नेपाललाई विशेष छुट दिएको उल्लेख विज्ञप्तिमा छ । एमसीसीमार्फत अमेरिकाले दिँदै आएको विकास अनुदान सहयोग अन्य केही देशमा रोकिए पनि नेपालमा भने अब निरन्तर सञ्चालन हुनेछ ।
नेपालमा एमसीसी परियोजना ५ वर्ष अवधिको रहेको छ । जसअन्तर्गत प्रसारण लाइन, सबस्टेशन निर्माण र सडक स्तरोन्नतिको काम प्रमुख छन् । एमसीए–नेपालले अझै पनि बाँकी रहेका ठेक्का प्रक्रिया सम्पन्न गर्नुपर्ने भएकाले परियोजनाको समयसीमा थप हुने वा कार्यान्वयन दबाव थपिने सम्भावना रहन्छ ।
नेपालमा एमसीसीको परियोजना केही समय अनिश्चित अवस्थाबाट गुज्रिरहेको बेला अमेरिकाले निरन्तरताको निर्णय गरेको पुष्टि एमसीए नेपालले गरेको छ । यद्यपि, यस विषयमा अमेरिकी तर्फबाट सार्वजनिक रूपमै विस्तृत जानकारी आउन बाँकी छ ।
एमसीसीमार्फत प्राप्त ५० करोड अमेरिकी डलर अनुदान पक्का भएको छ । जबकि थप ५ करोडबारे अझै अस्पष्टता कायम छ । प्रसारण लाइन तथा यातायात पूर्वाधारमा ध्यान केन्द्रित यस परियोजनाले नेपालको ऊर्जा तथा विकास पूर्वाधारमा उल्लेखनीय प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

























