काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले फिर्ता लिएको छ ।
नाउपाको शुक्रबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीका अनुसार सरकारबाट फिर्ता हुने निर्णय बारेको पत्र मुख्यमन्त्रीलाई बझाउने तयारी भइरहेको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका थिए । मन्त्री बर्खास्तीमा परेसँगै नाउपा सरकारबाट बाहिरिएको हो ।
सुदूरपश्चिम प्रदेशसभाका ५३ जना सांसदमध्ये नाउपाका ७ जना छन् । सरकारलाई बहुमतका लागि २७ सांसदको आवश्यक पर्छ । तर, कांग्रेसका १८ र सभामुखबाहेक एमालेका ११ जना सांसदहरू छन् ।
नाउपाले समर्थन फिर्ता लिए पनि सरकार अप्ठेरोमा भने पर्दैन । प्रदेशसभामा माओवादी केन्द्रको १०, नेकपा (एकीकृत समाजवादीका ३ (निलम्बित दीर्घ सोडारीबाहेक) तथा स्वतन्त्र र राप्रपाको १–१ जना सांसद छन् ।