काठमाडौं । पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाले आट गरेका कारण नेपालमा गणतन्त्र आएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् ।
जय नेपाल फाउन्डेसनले शनिबार राष्ट्रियसभा गृहमा आयोजना गरेको कार्यक्रममा उनले गणतन्त्रबारे सोच्नसमेत नसकिने समयमा पूर्वप्रधानमन्त्री कोइरालाले राजतन्त्र ढाल्ने हिम्मत गरेको दाबी गरे ।
‘गिरिजाबाबु धेरै लडाकु व्यक्ति हो । उहाँ नभएको भए गणतन्त्र आउने थिएन । त्यस्तो आँटिलो व्यक्ति हो,’ सभापति देउवाले भने, ‘हिम्मत भएको व्यक्ति हो । त्यो बेला मान्छेहरूले गणतन्त्र ल्याउनुपर्छ भनेर सोच्न पनि सक्दैन थिए । उहाँले हिम्मत गर्नुभएकै हो ।’
कोइरालाको हिम्मत र समन्वयकारी भूमिकाका कारण नेपालमा गणतन्त्र आएको उनले बताए ।