धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ (हर्कराज राई)ले चलाएको श्रमदानमा नेकपा (एमाले)बाट निर्वाचित वडाध्यक्ष सहभागी भएपछि खैलाबैला मच्चिएको छ ।
साम्पाङको श्रमदानमा सहभागी भएका धरान–४ का वडाध्यक्ष धनबहादुर राईलाई पदबाट बर्खास्त गर्न पार्टीले सिफारिस गरेको छ। एमाले धरानका उपाध्यक्ष पारस काङमाङ राईका अनुसार वडाध्यक्ष राईले पार्टी हितविपरीत काम गरेको पाइएपछि वडाध्यक्षबाट कारबाही गर्न पार्टीको जिल्ला कमिटीसमक्ष सिफारिस गरिएको हो ।
वडाध्यक्ष राई २०७९ को स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए । कार्यपालिका बैठकमा अनुपस्थित हुने, पार्टीको निर्देशनविपरीत काम गर्ने, पार्टीले बोलाएको बैठकमा अनुपस्थित हुने गरेका कारण कारबाहीको सिफारिस गरिएको एमालेले जनाएको छ ।
पार्टी उपाध्यक्ष राईका अनुसार पार्टीका नेताहरूले पटक–पटक सम्झाउँदा नमानेको र ३ पटक स्पष्टीकरण सोध्दासमेत चित्त बुझ्दो जवाफ नदिएपछि बर्खास्त गर्नका लागि निर्वाचन आयोगमा समेत सिफारिस गरिएको छ । एमाले सुनसरीका कार्यवाहक अध्यक्ष पर्शुराम यादवले वडाध्यक्षलाई एकपटक पार्टी कार्यालय बोलाएर थप कुरा बुझेपछि कारबाही प्रक्रिया अगाडि बढाउने विषयामा निर्णय लिइने बताए ।