विराटनगर । झापामा शनिबार साँझ अटो टेम्पो र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मेची राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका–१२ माथिल्लो धाइजनमा साँझ ५ः१० बजेतिर दुर्घटना भएको हो । चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको प्र १–०१–००२ ह ५५७१ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको मे ८ प ८०३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–११ का ३४ वर्षीय भीमबहादुर सार्कीको मृत्यु भएको हो । झापा प्रहरीका अनुसार गम्भीर घाइते भएका उनलाई बिर्तामोडको बी एन्ड सी अस्पताल पुर्याउनसाथ चिकित्सकले साँझ ५ः५० बजेतिर मृत घोषित गरेका हुन् ।
दुर्घटनामा परेर अटोमा सवार बुद्धशान्ति गाउँपालिका–३ की ४० वर्षीया निर्मला विक र उनकी छोरी १७ वर्षीया दीपा विक घाइते भएका छन् । उनीहरुको चारआलीमा रहेको पोलिक्लिनिकमा उपचार भइरहेको छ ।
प्रहरीले अटो चालक बुद्धशान्ति–१ का ४० वर्षीय युवराज घिमिरेलाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।