विराटनगर । उदयपुरमा शनिबार साँझ जेसीबी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी नगरपालिका–८ दमारमा को १ क २७९५ नम्बरको जेसीबी साँझ ७ः५५ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काम गर्ने क्रममा ‘ब्याक’ गर्न खोज्दा जेसीबी आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
जेसीबी सडकबाट करिब ६० मिटर तल खस्दा चालक कटारी–१० का २२ वर्षीय नवीन श्रेष्ठको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । सडकबाट खसेको जेसीबीको चक्काले ढाडमा किच्दा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।
घटनास्थल ट्राफिक प्रहरी पोस्ट कटारीबाट करिब १९ किलोमिटर उत्तरमा पर्छ । दुर्घटनाग्रस्त जेसीबी घटनास्थलमै छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।