
काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिसमा परेका ३ जनाको नाम अनुमोदित भएको छ । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेको हो ।
सर्वोच्चका प्रस्तावित न्यायाधीश मेघराज पोखरेल, शान्तिसिंह थापा र श्रीकान्त पौडेलको नाम सुनुवाइ समितिको सोमबार बिहान बसेको बैठकले अनुमोदन गरेको हो । उनीहरुलाई सर्वोच्चको न्यायाधीशका लागि न्याय परिषद्ले सिफारिस गरेको थियो ।
त्यस्तै, न्याय परिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालको नाम पनि अनुमोदन भएको समिति सभापति ईश्वरी न्यौपानेले जानकारी दिइन् । सर्वोच्च अदालतको न्यायाधीशमा अनुमोदन भएका पोखरेल वरिष्ठ अधिवक्ता हुन् । थापा र पौडेल उच्च अदालतका मुख्य न्यायाधीश थिए ।
सभापति न्यौपानेले अब न्यायाधीश सिफारिस गर्दा समावेशिताका आधारमा सिफारिस गर्न कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरासियाको ध्यानाकर्षण गराइएको उल्लेख गरिन् ।

























