सञ्चारकर्मी सहकारीले ४ जना पत्रकारलाई पुरस्कृत गर्ने

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २३, सोमबार १३:४२

विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको १४ औं स्थापना दिवसको अवसरमा ४ जना पत्रकारहरुलाई पुरस्कृत गरिने भएको छ ।

सञ्चारकर्मी सञ्चार सहकारीको आइतबार बसेको कार्यसमितिको बैठकले पुरस्कृत हुने पत्रकारको टुंगो लगाएको हो । संस्थाले हरेक वर्ष असार २७ गते स्थापना दिवस मनाउने गरेको छ ।

पुरस्कार दातासहितको परामर्श एवं पुरस्कार छनोट समितिको सिफारिसको आधारमा पुरस्कृत हुने पत्रकारहरूको नाम टुंगो लगाइएको सहकारीका अध्यक्ष दीपक दाहालले जानकारी दिए । अध्यक्ष दाहालका अनुसार ५१ हजार रुपैया“ राशिको तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता सम्मान नेपाल पत्रकार महासंघ मोरङका संस्थापक अध्यक्ष एवं नेपाल खोज अनलाइनका सञ्चालक सुवास ढकाललाई प्रदान गर्ने निर्णय भएको छ ।

१० हजार रुपैया“ राशिको मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कार विराट पोष्टकी पत्रकार रुमा दाहाल (निशा) लाई प्रदान गर्ने निर्णय भएको छ । त्यसैगरी, २१ हजार रुपैया“ राशिको मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार ब्लाष्ट दैनिक विराटनगरका समाचारदाता अनिल श्रेष्ठलाई प्रदान गरिने भएको छ ।

५० हजार रुपैया“ राशिको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष एवं उद्घोष दैनिकका पत्रकार बन्धु पोखरेललाई प्रदान गर्ने निर्णय भएको छ । यसअघि तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता सम्मानबाट राजेन्द्र दाहाल, प्रमोद प्रधान र मोहन भण्डारी पुरस्कृत भइसकेका छन् ।

मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कारबाट सुशीला पाठक, इन्दिरा भट्टराई, बिनु तिम्सिना, ज्योति चौहान, उमा थापा, राजकुमारी तामाङ, एलिना दियाली, उषा सरदार, रञ्जीता पोखरेल र झुना भट्टराई पुरस्कृत भइसकेका छन् । यसअघि मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार रोहितकुमार लुइँटेल, मोहन मानन्धर, उद्धव घिमिरे, अभयकुमार राई, देवनारायण साह, मोहम्मद सदरुल, तारा आचार्य, बाबुराम भण्डारी, सन्तोष सिग्देल, नवीनचन्द्र कर्णलाई प्रदान गरिएको थियो ।

त्यस्तै ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कारबाट भीम चापागाईं (इलाम), गजेन्द्र बुढाथोकी (काठमाडौं) अनन्तराज न्यौपाने, मीनकुमार श्रेष्ठ, मोहन मानन्धर, नवराज कट्टेल र सुशीला पाठक पुरस्कृत भइसकेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.