जन्मदिनमा पूर्वराजा ज्ञानेन्द्र : ‘नेपाल र नेपालीका लागि प्रार्थना गरौँ’

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २३, सोमबार १३:५९

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान समय ‘नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय’ भएको बताएका छन् ।

सोमबार आफ्नो ८० औं जन्मदिनका अवसरमा काठमाडौंको निर्मल निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले वर्षा यामको संवेदनशीलता उल्लेख गर्दै सबैलाई सतर्क रहन आग्रह गरे । ‘अहिले वर्षाको समय हो । बाढी र पहिरोको जोखिम छ । पानीजन्य रोगहरू पनि हुने गर्छन्,’ उनले भने, ‘सबै दाजुभाइ, दिदीबहिनीहरू विचार गरेर बस्नुस् । सतर्क रहनुस् भन्ने मेरो आग्रह छ ।’

पूर्वराजा शाहले नेपाली हुनुमा राष्ट्रियताको गहिरो बोधसँग जोड्दै भने, ‘नेपालमा जन्मेर मात्र नेपाली हुँदैन । नेपाल आफैं हामीभित्र हुनुपर्छ । तब मात्र नेपालीपनको भाव जाग्छ ।’

उनको भनाइमा देशप्रतिको माया जन्म प्रमाणपत्र वा भूगोलले मात्रै होइन, आत्मा र चेतनाले पुष्टि गर्नुपर्ने कुरा स्पष्ट झल्किन्छ । जन्मदिनका अवसरमा निर्मल निवासमा पूर्वराजालाई शुभकामना दिनेको भिड लागेको थियो । विभिन्न क्षेत्रका समर्थक, शुभेच्छुक तथा नागरिकहरूले फूलमालासहित बधाई तथा दीर्घायुको कामना गरेका थिए ।

पूर्वराजा शाह लामो समयदेखि राजनीतिक गतिविधिबाट अलग रहेका छन् । तर, यदाकदा राष्ट्रिय संकट वा संवेदनशील समयहरूमा सार्वजनिक सन्देश दिँदै आएका छन् । यसपटकको उनको सन्देशले प्राकृतिक प्रकोपप्रति चासो व्यक्त गर्नुका साथै नेपाली पहिचानप्रतिको दृष्टिकोण उजागर गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.