
काठमाडौं । ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ को ‘कुलिङ पिरियड’सम्बन्धी व्यवस्थामा उत्पन्न विवाद छानबिनका लागि सदस्यहरु तोकिएका छन् ।
संसदीय विशेष छानबिन समिति ७ सदस्यीय हुने छ । समितिका सदस्यहरुको नाम टुंगो लागेको हो । सभामुख देवराज घिमिरेलाई दलहरूले आफ्नो भागमा परेका सदस्यहरूको नामावली दिएका छन् ।
संसद्को नियमावली, २०७५ को नियम १८० बमोजिम गठन हुने समितिमा नेपाली कांग्रेस र नेकपा (एमाले)बाट २–२ जना, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट १–१ जना सदस्य रहने छन् ।
सभामुखको सचिवालयका अनुसार समितिमा कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य, माओवादीबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली एवं राप्रपाबाट रोशन कार्की सदस्य रहने छन् ।
सभामुख देवराज घिमिरेले शनिबार मुख्य दलका प्रमुख सचेतकहरूसँग गरेको बैठकमा विशेष समिति गठन गर्ने सहमति भएको थियो । समितिलाई छानबिन तथा अध्ययनका लागि १५ दिनको समय दिइएको छ ।
प्रतिनिधिसभाबाट सोमबार समितिको घोषणा गरिने छ । समितिलाई छानबिनका लागि २१ दिनको समय दिइएको छ ।
























