कोशी प्रदेशसभाबाट प्रतिस्थापन विधेयक पारित, बीपीलाई राजनीतिक हस्तक्षेपबाट जोगाउन माग

Share this
665shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २३, सोमबार १६:४१
भाषा सम्बन्धी विधेयक : गैरसरकारी विधेयकको विपक्ष उभिन सत्तापक्षको ह्वीप 

विराटनगर । कोशी प्रदेशसभाले ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२ लाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०८२’ लाई सोमबार सर्वसम्मत रूपमा पारित गरेको छ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीद्वारा सभामा पेस गरिएको प्रस्तावलाई सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा कुनै पनि सांसदले विरोध जनाएनन्। विधेयक सम्बन्धमा संसद सचिवालयमा कुनै संशोधन प्रस्ताव दर्ता भएको थिएन भने दफावार छलफलको क्रममा पनि सांसदहरूले मौनता अपनाएका थिए।

संसद बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीले महालेखा परीक्षकको सातौँ वार्षिक प्रतिवेदन, २०८२ पनि पेस गरे। शून्य समयमा बोल्दै नेकपा (एमाले)का प्रदेश सांसद रमेशकुमार बस्नेतले देशकै अग्रणी स्वास्थ्य संस्था बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न जोड दिए।

उनले प्रतिष्ठानमा वार्षिक ५ लाखभन्दा बढी नागरिकले बहिरंग सेवा लिने र करिब ४५ हजारले आकस्मिक सेवा लिने तथ्यांक सुनाउँदै यस संस्थालाई नेपाल–भारतकै नमूना स्वास्थ्य संस्था बनाइनुपर्ने बताए। बस्नेतले निजामती सेवासम्बन्धी विधेयकमा समावेश गरिएको ‘कुलिङ पिरियड’को त्रुटिमा कसैले जिम्मेवारी नलिनु गैरजिम्मेवार व्यवहार भएको बताए। उनले यसमा गल्ती गर्नेहरूको खोजी गरी कारबाही गर्नुपर्ने धारणा राखे ।

प्रदेशसभा सदस्य राजन किराँतीले पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले कर्मचारीहरूसँग रकम मागेको र रकम नदिए सरुवा गरिदिने गरेको भन्ने समाचारहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिरहेको भन्दै तत्काल छानबिन गर्न सरकारसँग माग गरे। प्रदेशसभा सदस्यहरू गोपालबहादुर बस्नेत, किशोरचन्द्र दुलाल, शोभा चेम्जोङ र ललिताकुमारी चौधरीले पनि विविध विषयमा आफ्ना धारणा राखेका थिए।

प्रदेशसभाको अर्को बैठक मंगलबार बिहान ११ बजेका लागि आह्वान गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.