राम अयोध्यामा नभएर नेपालमै जन्मिएका हुन् : ओली

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २३, सोमबार १९:२३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम अयोध्यामा नभएर नेपाली भूमिमै जन्मिएको बताएका छन् ।

राम नेपालमा जन्मिएको प्रचार गर्न पछि पर्न नहुने उनले बताए । एमालेको पर्यटन विभागले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले धार्मिक ऐतिहासिकताको सन्दर्भमा नेपाल आफैं कमजोर देखिएको उल्लेख गरे ।

‘राम नेपालमै जन्मिएका हुन्,’ ओलीले दोहोर्याए, ‘सायद त्यहाँ थारु बस्ती थियो होला । अहिले पनि त्यो भूभाग नेपालमै पर्छ। तर, हामी भन्न सक्दैनौं। रिसाउँछ कि भन्ने डर हुन्छ । अनि सोच्न थाल्छौं । के गरी खान्छौं ?’ वाल्मिकी रामायणमा उल्लेख भएको कोशी तरेर पश्चिम गएको प्रसंगलाई प्रमाणको रूपमा प्रस्तुत गर्दै ओलीले राम र लक्ष्मणको शिक्षा पनि नेपालमै भएको तर्क गरे।

‘कोशी पार गरेर सीधै अयोध्या पुगिन्छ र ? त्यो त कथाको गणितमै मिल्दैन,’ ओलीले मुस्काउँदै थपे, ‘पश्चिमतिर हिँडेको घोडा ताकेरै अयोध्या पुग्छ भन्नु त बालसुलभ कुरा भयो ।’ ओलीले सीता र रामको विवाह जनकपुरमा भएको प्रसंग जोड्दै दुवै जना नेपाली मूलका भएको तर्क गरे।

‘राम यदि अयोध्याको मात्र भएको भए उतै विवाह गर्थे होला नि । तर, सीता यहीँकी थिइन् । त्यसैले जनकपुर आएर बिहे गरे । तिनको कथा त्रिशूली र कालीगण्डकी मिसिएको भूगोलमै समाहित छ,’ ओली भन्छन् । उनले भगवान शिव र विश्वामित्र पनि नेपाली भूगोलसँग सम्बन्धित रहेको दाबी गरे।

ओलीको यस्तो अभिव्यक्तिले नेपाल र भारतबीचको सांस्कृतिक, धार्मिक र पौराणिक सम्बन्धमा नयाँ बहसलाई पुनः बल पुर्याउने देखिन्छ। यसअघि पनि उनले अयोध्या नेपालको वर्तमान भूगोलभित्र पर्छ भन्ने दाबी गर्दै विवादास्पद तरंग सिर्जना गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.