फाइल फोटोकाठमाडौं । अविरल वर्षासँगै नदीमा आएको बाढीले पक्की पुलदेखि गाडी (सवारीसाधन)समेत बगाएको छ । मान्छेसमेत बगाएको अनुमान छ ।
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने रसुवास्थित नेपाल–चीन मितेरी पुल मंगलबार बिहानका राति आएको बाढीले बगाएको हो । भोटेकोसी नदीमा आएको बाढीले पक्की पुलदेखि भन्सार र्याडमा भएका कन्टेनरहरू पनि बगाएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए ।
उनका अनुसार बाढीले सडक, पुल, भन्सार यार्डमा रहेका सवारीसाधन र सुख्खा बन्दरगाहसमेत बगाएको छ। क्षतिको पूर्ण विवरण आउन बाँकी छ । तर, ठूलो क्षति भएको अनुमान गरिएको प्रजिअ पौडेलले बताए ।
रातको समयमा आएको बाढीले मानवीय क्षति पनि गरेको हुन सक्ने प्रारम्भिक अनुमान छ । यद्यपि, पुष्टि भइसकेको छैन । ‘प्रारम्भिक जानकारी अनुसार बाढीले अन्दाजी ६–७ वटा ईभी गाडीहरु बगाएको भन्ने छ । केही कन्टेनर बगाएको कुरा छ । त्यहाँ केही मानिसहरु पनि फसेको जानकारीमा आएको छ,’ उनले भने ।
बाढीले रसुवागढी जलविद्युत आयोजनाको ड्याममा पनि क्षति पुगेको पौडेलले बताए । अचानक बाढी आएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । खासगरी मैलुङ र बेत्रावती क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको हो ।
मैलुङ प्रहरी चौकीका प्रहरीहरु जोखिमका कारण सुरक्षित स्थानमा गइसकेका छन् । बाढीले रसुवागढी हाइड्रोपावरमा पनि क्षति पुगेको छ । हाइड्रोपावरको ड्याम र क्याम्पमा क्षति पुगेको हो ।
क्याम्प बगाएपछि कर्मचारीहरु भागेर जंगलमा बसिरहेका छन् । रसुवागढी जलविद्युत केन्द्रका प्रशासन प्रमुख टीकनाथ पौडेलका अनुसार हाइड्रोपावरमा ठूलो क्षति भएको अनुमान छ । ‘हाम्रा गाडीहरु पनि बगेका छन् । साथीहरु जंगल क्षेत्रमा गएर बसिरहनु भएको छ,’ उनले भने ।
आयोजनामा २ महिलासहित २५–३० जना कर्मचारीहरु रहेको र उनीहरुलाई उद्धार गर्न हेलिकप्टर पठाउने तयारी भइरहेको स्थानीय प्रशासनले जनाएको छ । हाइड्रोपावरको विद्युत् उत्पादन गृह भने सुरक्षित छ ।
नाकामा अहिले सुरक्षाकर्मी परिचालन गरेर क्षतिको विवरण संकलनको काम भइरहेको प्रजिअ पौडेलले बताए । ‘बाढीले बगाएको गाडीमा मान्छे पनि रहेको हुन सक्ने अनुमान छ,’ पौडेलले भने, ‘उद्धारका लागि हेलिकोप्टरसँग समन्वय भइरहेको छ ।’ खराब मौसमका कारण उद्धारमा समस्या हुने देखिएको उनको भनाइ छ । बाढीले पुल बगाएपछि नेपाल चीन सम्पर्क विच्छेद भएको छ ।

























