कृषि सामग्री हस्तान्तरण 

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २४, मंगलबार १८:१८

विराटनगर । दलन बाली पकेट विकास कार्यक्रमअन्तर्गत विराटनगर महानगरपालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण गरेको छ ।

विराटनगर –१९ स्थित बैजनाथपुर कृषि सहकारी संस्थालाई महानगरले २४ लाख रुपैयाँ बराबरको कृषि सामग्री हस्तान्तरण गरेको हो । जसमा १२ लाख रुपैयाँ महानगर र १२ लाख रुपैयाँ कृषि सहकारीले व्यहोरेको छ ।

मंगलबार महानगर परिसरमा आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलको उपस्थितिमा आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, आर्थिक विकास महाशाखाका प्रमुख प्रतीक गड्तौला, कृषि तथा पशुपंक्षी विकास शाखाका संयोजक हिरालाल यादवलगायतले कृषि सामग्री हस्तान्तरण गरे ।

कृषिलाई आधुनिकीकरण र यान्त्रीकरण गर्ने उद्देश्यले महानगरले १ थान ट्याक्टर, २ थान मिनी टिलर, सिँचाइ मोटर २ हर्षको ५ थान, स्प्रे मेसिन ६ थान, समरसिथल पम्प १ थान र रोटाबेटर १ थान हस्तान्तरण गरिएको थियो ।

कृषि सहकारीमा आबद्ध कृषकहरूले उक्त सामग्री उपयोग गर्न पाउने छन् । बैजनाथपुर कृषि सहकारीमार्फत कृषि सामग्री प्रयोग गरी स्थानीय कृषकले आफ्ना उत्पादन वृद्धि गर्ने शाखा प्रमुख यादवको भनाइ छ ।

महानगर क्षेत्रभित्र १ हजार ३ सय ७५ हेक्टर खेतीयोग्य जमिन रहेको छ । विशेष गरी ४, ६, ११, १२, १४, १६, १८ र १९ नम्बर वडामा बढी खेतीयोग्य जमिन रहेको छ ।

त्यस्तै महानगरभित्र ३६ वटा कृषक समूह रहेका छन् । ती समूहमार्फत महानगरले कृषिसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.