घरको सिमाना तोडेर रञ्जुले थालेको ‘ब्युटी पार्लर’ यात्रा (भिडियोसहित)

Share this
680shares
मुलुकी खबर
सुजता लिम्बू
clock२०८२ असार २५, बुधबार १६:१५

विराटनगर । सानो छँदा ऐनामा आफूलाई सजाउँदै अरूलाई पनि शृङ्गार्ने सपना देख्थिन्, रञ्जु नायक । तर, लाहानमा हुर्किएकी रञ्जुका लागि त्यो सपना सहज थिएन ।

उनी जन्मेको र हुर्किएको समाजको आँखामा ‘महिलाले घरभित्रै सीमित हुनुपर्छ, बाहिर निस्कनु हुँदैन’ भन्ने सोच हाबी थियो । तर, पनि साँघुरो सोचको बाधा पन्छयाउँदै उनले ठूलो आँट गरेर आमालाई ब्युटी पार्लरको कोर्स सिक्ने प्रस्ताव राखिन् ।

उनको प्रस्तावलाई आमाले साथ दिइन् । आमाको सहमतिलाई परिवारले पनि नकार्न सकेनन् । त्यसपछि रञ्जुले आफैँ आत्मनिर्भर हुने सपनाको उडान भर्न सुरु गरिन् ।

उनको माइतीको घरमा आमा नै बलियो पर्खाल थिइन् । उनी सुनाउँदै भन्छिन्, ‘आमाले जे गर्छेस्, मन लगाएर गर । विश्वासका साथ गर्नु । म छु भन्नु भयो । अनि आँट आयो ।’ आमाको त्यो वाक्य आज पनि आफ्नो हिम्मत भएको रञ्जु सुनाउँछिन् । त्यही हिम्मतका कारण उनले पार्लर सिकेको केही समय लाहानमा नै व्यवसाय सुरु गरिन् । त्यसपछि १९ वर्षको उमेरमा उनी विवाह बन्धनमा बाँधिएर विराटनगर महानगरपालिका– १२ मा आइन् ।

धेरै महिलाले विवाहपछि आफ्ना सपना त्याग्छन् । तर, रञ्जुले पतिलाई आफ्नो रहर सुनाइन्। रहरमा पतिले पनि साथ दिएपछि पुनः विराटनगरमा पार्लर सम्बन्धी कोर्स सकेर व्यवसायलाई अगाडि बढाएको उनले सुनाइन् ।

‘सुरुमा दिनमा धेरै गाह्रो भयो । कतिले ‘पहिला कहाँ हिँडेको ?’ भनेर सोध्थे । कतिले नक्कली पेसा भनेर जिस्क्याए र गिज्याए । कतिले घरमा झगडा लगाइदिए । तर, मलाई आत्मविश्वासले पछाडि फर्किन दिएन । अगाडि बढेँ,’ उनले भनिन् । यस्तै संघर्षका बाबजुद उनले आफ्नो व्यवसायलाई फुलाउँदै लगिन्।

अहिले सिजनमा मासिक ३० देखि ६० हजार रूपैयाँसम्म कमाउँछिन्। ‘अब त पतिले पनि गर्व गर्नु हुन्छ । परिवारले सहयोग गर्छ । पहिले पैसा माग्नुपर्ने हुन्थ्यो । अहिले आफ्नै हातको कमाइले सबै कुरा गर्न सक्छु,’ रञ्जु भन्छिन्।

उनको लोभलाग्दो मिहिनेत र लगाबकै कारण पहिले ब्युटी पार्लरलाई नक्कली पेसा र फेसन देखाउने मात्रै भन्नेहरुको मुख बन्द भएको छ । अर्थात्, ब्युटी पार्लरलाई गिज्याउनेहरुको मुख बन्द गर्न उनी सफल भएकी छन् । अब ती शब्दको ठाउँमा सम्मानले भरिएका नजर आउन थालेको उनको भनाइ छ ।

त्यसो त रञ्जुले मधेशी समुदायमा महिला घरमै बस्नुपर्छ भन्ने पुरानो धारणा तोडिन् । उनी गर्वका साथ भन्छिन्, ‘आफ्नै कमाइले मन लागेको ठाउँ जान सक्छु। परिवारलाई सहयोग गर्न सक्छु । यो नै हो, साँचो स्वतन्त्रता ।’ उनी सबै महिलाहरु आत्मनिर्भर बन्न जरुरी रहेको समेत बताउँछिन् ।

‘१ दशक बढीको ब्युटी पार्लर पेसाले आफूलाई यात्रामा आत्मबल बढाएको मात्रै छैन,’ उनले भनिन्, ‘आत्मसम्मानको स्वाद पनि चखाएको महसुस भइ्रहेको छ ।’ यही पेसाले आफूलाई चिनाएको अनुभव सुनाउँदै उनी भन्छिन्, ‘पहिले विराटनगरका छिमेकीले चिन्नु हुन्न थियो । तर, अहिले सिंगो समाजले चिन्छ ।’ उनी आफ्नो समुदायको महिला दिदीबहिनीहरुलाई समेत सिप सिकेर आत्मनिर्भर बन्न आग्रह गर्छिन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.