झापामा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना : २ जनाको मृत्यु, नाबालक र महिला घाइते

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २५, बुधबार १७:३७

विराटनगर । झापामा बुधबार दिउँसो भारतीय नम्बरको मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल र स्कुटर चालकको मृत्यु भएको हो ।

झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा परेर नाबालक र महिला घाइते भएका छन् । बाह्रदशी गाउँपालिका–१ खैरबारीस्थित भित्री सडक खण्डमा दिउँसो ३ः४० बजेतिर दुर्घटना भएको जानकारी खड्काले दिए ।

उनका अनुसार राजगढबाट कुटीतर्फ जाँदै गरेको बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१६ प ९२७० नम्बरको स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परेर दुवै सवारीसाधनका चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक झापाको कचनकवल गाउँपालिका–३ का ६० वर्षीय श्रीप्रसाद राजवंशी रहेका छन् । मोटरसाइकल चालकको पहिचान खुल्न बाँकी रहेको डीएसपी खड्काले बताए ।

उनका अनुसार गम्भीर घाइते अवस्थामा दुवै जनालाई उद्धार गरेर उपचारका लागि प्रदेश अस्पताल भद्रपुर लगिएको थियो । उनीहरुलाई दिउँसो ४ः४० बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् । मृतक मोटरसाइकल चालकको पहिचानको प्रयास भइरहेको खड्काले बताए ।

दुर्घटनामा परेर स्कुटरको पछाडि सवार कचनकवल–३ की २७ वर्षीया उर्मीला राजवंशी र उनका छोरा ३ वर्षीय आयुष राजवंशी घाइते भएका छन् । घाइते हुनेहरु मृतक श्रीप्रसादका बुहारी र नाति रहेको प्रहरीले जनाएको छ ।

घाइते आमा–छोराको अवस्था गम्भीर रहेको र घटनाको अनुसन्धान सुरु गरिएको जानकारी डीएसपी खड्काले दिए । घटनाको अनुसन्धानका लागि इन्स्पेक्टरको नेतृत्वमा टोली परिचालन गरिएको छ । दुर्घटनाग्रस्त मोटरसाइकल र स्कुटर इलाका प्रहरी कार्यालय राजगढमा राखिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.