धनपालथानको उखुबारीबाट ८ सय २ किलो गाँजा बरामद

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २६, बिहीबार ११:१३

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ गदिया खोलानजिकै उखुबारीबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ ।

इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चोकी गडेरिया, प्रहरी चौकी अमाहिवरियाती र सशस्त्र प्रहरी बलको बीओपी नोचाबाट खटिएको संयुक्त टोलीले बुधबार साँझ ६ः३५ बजेतिर गाँजा बरामद गरेको हो । गाँजा लुकाएर राखिएको विशेष सूचनाका आधारमा बरामद गर्न नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोली खटिएको थियो ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार २६ वटा बोराभित्र प्याक गरेर राखेको अवस्थामा गाँजा बरामद भएको हो । बरामद गरेर तौल गर्दा गाँजा ८ सय २ किलो रहेको उनले बताइन् ।

अन्यत्र पनि गाँजा लुकाएर राखिएको हुनसक्ने आशंकामा खोजी भइरहेको प्रहरीको भनाइ छ । बरामद भएको गाँजा आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ ।

गाँजा कसले लुकाएको हो भनेर यकिन छैन । गाँजा बरामद गरेको प्रहरीले यसको धन्दामा संलग्नलाई भने नियन्त्रणमा लिन सकेको छैन । पूर्वी पहाडी जिल्लामा उत्पादन हुने गाँजा भारत कटाउनका लागि उखुबारीमा भण्डारण गरेर राखिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.