मौसम विभागको निष्कर्ष, ‘हिमताल विस्फोटबाट रसुवामा बाढी’

Share this
774shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २६, बिहीबार १३:२३
फाइल फोटो

काठमाडौं । रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा हिमताल विस्फोटका कारण बाढी आएको निष्कर्षमा जल तथा मौसम विज्ञान विभाग पुगेको छ ।

रसुवाको ल्हेन्दे खोलामा गत मंगलबार बिहान बाढी आएको थियो । ‘सेन्टिनेल’ उपग्रहबाट अध्ययन गर्दा हिमताल फुटेर बाढी आएको प्रारम्भिक निष्कर्ष निकालिएको विभागले जनाएको छ ।

बाढीविद् विनोद पराजुलीले ‘सुप्राग्लेसियल’ ताल फुट्दा बाढी आएको हुनसक्ने बताए । ‘रसुवागढीस्थित नेपाल–चीन सीमाबाट करिब ३६ किलोमिटरमाथि (अक्षांशः २८.४०४३, देशान्तरः ८५.६४६९, समुद्री सतहदेखि करिब ५ सय १५) मिटर उचाइ ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा पर्दछ । हिम नदीको करिब बीच भू–भागमा विकास भएको सुप्राग्लेसियल ताल (हिमताल) करिब ०.७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको देखिन्छ,’ उनले भने, ‘उक्त हिमतालको क्षेत्रफल करिब ०.६० वर्ग किलोमिटर मात्र देखिएको छ । बाढीको घटना हुनु पूर्व र घटना भइसकेपछिको तालको क्षेत्रफलमा परिवर्तन भएको पाइयो । अध्ययनले उक्त समयावधिमा तालबाट पानी निकास भएको र त्यसको प्रभाव तालको तलको क्षेत्रमा परेको देखिएको छ ।’

यस सम्बन्धमा चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने अपेक्षा गरिएको पराजुलीले बताए । साथै, आगामी दिनमा भू–उपग्रहमार्फत प्राप्त हुन सक्ने अन्य तस्बिरहरूले थप पुष्ट्याइँ दिन सक्नेछ ।

विभागले निरन्तर अध्ययन जारी राख्ने जानकारी पराजुलीले दिए । ‘बाढी पूर्व र बाढीपछिको अवस्थाबीच उल्लेखनीय अन्तर देखिएको र विशेष गरी तालको क्षेत्रफल उल्लेख्य रूपमा घटेको देखिएको छ,’ उनले भने, ‘जसअनुसार उक्त हिमतालबाट पानी निकास भएको देखिन्छ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.