
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समयमै विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरेका छन्। उनले विकास र समृद्धिका प्रक्रियासँगै जनसंख्याको सन्तुलन र समान विकास नभए मानव जातिको अस्तित्व नै संकटमा पर्ने बताए ।
विश्व जनसंख्या दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको ‘राष्ट्रिय जनसंख्या नीति, २०८२’ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले जनसंख्या, विकास र मानवीय अस्तित्व एकअर्कासँग गाँसिएका विषय भएको बताए । उनले हरेक व्यक्तिले आफ्नो सन्तान जन्माउने कार्यलाई पृथ्वीप्रति उत्तरदायित्वका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे।
‘मानव जातिको अस्तित्व र सुखपूर्ण जीवनका लागि सन्तुलित जनसंख्या आवश्यक छ। यदि जनसंख्या नै भएन भने न देश रहन्छ, न त धर्तीको अर्थ बाँकी रहन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘जनसंख्या नघटाउने गरी सन्तुलन कायम राख्ने नीति आवश्यक छ। मानव अस्तित्वका लागि उचित नीति र कदम चाल्नैपर्छ।’
उनले विश्वमा भइरहेका युद्ध, हतियार निर्माण र सामूहिक विनाशको तयारीप्रति पनि चिन्ता व्यक्त गरेका छन् । उनले, ‘गोष्ठी र सेमिनार गरेर जनसंख्या बचाउनुपर्ने भनिन्छ । तर, अर्कोतर्फ मान्छे मार्ने हतियार उत्पादन हुँदैछ। यस्तो भएमा मानव जातिको अस्तित्व जोगिँदैन।’
ओलीले पछिल्लो पुस्तामा ‘ढिलो विवाह गर्ने र सन्तान नजन्माउने’ प्रवृत्तिका कारण सामाजिक सन्तुलनमा समस्या आइरहेको उल्लेख गरे। उनका अनुसार सरकारले २० वर्षपछि विवाह गर्न दिने कानुनी व्यवस्था गरेकाले त्यसपछि ढिलो नगरी समयमै विवाह गरेर सन्तान जन्माउने क्रम सुरु गर्नुपर्छ।
‘३० वर्ष पुग्दासम्म ३ सन्तान पाइसक्नुपर्छ । ४० कटेपछि रमाइलो गरौं भनेर गीत गाएर अलमलिनु हुँदैन,’ उनले भने । प्रधानमन्त्री ओलीले जनसंख्या सन्तुलनबारे गरिएको सार्वजनिक सन्देश ‘सन्ततिले डाँडाकाँडा ढाकुन् नभन’ भन्ने भनाइले उल्टो असर पारेको र अहिले धेरै युवाले सन्तान नचाहने मनोवृत्ति विकास गरेकोप्रति पनि चिन्ता व्यक्त गरे। उनका अनुसार अब यो सोचमा परिवर्तन ल्याउने समय आएको छ।
विकासशील तथा विकसित मुलुकहरूमा जनसंख्या ऋणात्मक भएको उदाहरण दिँदै ओलीले त्यहाँ मानव संसाधनको संकट चुलिएको बताए । नेपालमा यस्ता समस्या आउन नदिन तत्काल कदम चाल्नुपर्ने उनको धारणा छ । जनसंख्या नीति, २०८२ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि सबैलाई प्रधानमन्त्री ओलीको आग्रह छ ।

























