
विराटनगर । समाचार संकलन गर्न पुगेका धरानका पत्रकारमाथि मेयर हर्क साम्पाङका सर्मथकहरूले दुर्व्यवहार गरेका छन् ।
धरान उपमहानगरपालिका–५ र १५ का स्थानीयबासीको विवादको रिपोर्टिङका लागि बिहीबार समाचार संकलनका लागि पुगेका पत्रकारमाथि धरानका मेयर साम्पाङका समर्थकहरुले दुर्व्यवहार गरेका हुन् ।
पत्रकार रोहित कुलुङ राई, रश्मि प्रधान र डेबिट बस्नेतमाथि दुर्व्यवहार भएको बताइएको छ । दुर्व्यवहारपछि पत्रकारहरूले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका छन् ।
सेउती खोलामा आउने बाढीलाई च्यानलिङ गर्ने भनी मेयर साम्पाङले जेसीभी लगेर काम सुरू गरेका थिए । सो क्रममा २ वटाका वडाबासी बीच विवाद बढेको थियो । २ समूहबीच झडपको स्थिति भएपछि आफूहरू समाचार संकलनमा पुगेको पत्रकार राईले जानकारी दिए ।
‘विवाद भएको विषय भिडिओ खिचिरहेको थिएँ, एक जना मेरो कानमै आएर भिडिओ किन खिचेको भन्दै गाली गरे । त्यसपछि महिलाहरूलाई बोलाएर दुर्व्यवहार गरे, राईले भने ।
पत्रकारहरूले धरान–५ सुन्दर बस्तीका अन्दाजी ३५ वर्षीय कवि याक्खा र सोही ठाउँका करिब ५५ वर्षीय मणिराज राईसहित परिचय नखुलेका २ महिलाविरुद्ध उजुरी दिएका छन् ।
इलाका प्रहरी कार्यालय धरानले उजुरी उपर कारबाही हुने जनाएको छ । पत्रकारहरूमाथि दुर्व्यवहार भएको विषयमा नेपाल पत्रकार महासंघ सुनसरीले विज्ञप्ति निकालेर घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।























