
बैतडी । जीप दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–६ को खिपाली मोडमा शनिबार बिहान ६ बजेतिर सुप प्र ०१–००१ ज १३७२ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका जीप चालक डिलासैनी गाउँपालिका–१ नगराउ बस्ने २४ वर्षीय सन्तोशबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण चौधरीको मृत्यु भएको छ ।
गम्भीर अवस्थामा उद्दार गरेर पाटन प्राथमिक स्वास्थ्य केन्द्र पठाइएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । दुर्घटनामा डिलासैनी गाउँपालिका–१ का ४२ वर्षीय रामबहादुर राना, ५१ वर्षीय कमला धामी, २७ वर्षीय राजेन्द्र बहादुर खत्री, २१ वर्षीया भागरथी खत्री, २ वर्षीया एलिसा खत्री र २५ वर्षीय हेमन्तप्रसाद भट्ट घाइते भएका छन् ।
उनीहरुमध्ये कमला धामी र राजेन्द्र खत्रीको अवस्था गम्भीर छ । घाइतेहरुको थप उपचार भइरहेको प्रहरीले जनाएको छ ।

























