
काठमाडौं । नेपाली कांग्रेसभित्र अनुशासन समितिको पछिल्लो निर्णयलाई लिएर असन्तुष्टि चुलिँदै गएको छ। पार्टीका ४ केन्द्रीय सदस्यहरुले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन्।
केन्द्रीय सदस्यहरु मधु आचार्य, प्रतिमा गौतम, प्रकाश स्नेही रसाइली र अजयबाबु सिवाकोटीले सभापति देउवासमक्ष अनुशासन समितिले गरेको निर्णयमा गम्भीर प्रश्न उठाएका हुन्। उनीहरुले पार्टीको मूल संरचना र आन्तरिक लोकतन्त्रलाई नजरअन्दाज गर्दै अनुशासन कारबाही गरिएको भन्दै यसबारे केन्द्रीय तहमा विस्तृत छलफल हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
अनुशासन समितिको कारबाहीलाई केन्द्रीय समिति बैठकमा प्रस्तुत नगरी छलेर अघि बढेको भन्दै उनीहरुले आपत्ति जनाए । अनुशासनको डण्डा चलाइनु खोटपूर्ण र राजनीतिक पूर्वाग्रहबाट प्रेरित देखिने उनीहरुको भनाइ छ ।
नेताहरुले अनुशासन कारबाहीलाई ‘गुटगत’ ‘दोहोरो मापदण्डयुक्त’ र ‘पूर्वाग्रही’ भनेर स्पष्ट रुपमा अस्वीकार गरेका छन्। उनीहरुको भनाइमा यस्तो निर्णयले न व्यक्तिको मनोबल बढाउँछ, न त पार्टीकै संस्थागत मर्यादा र आन्तरिक एकतालाई मजवुत बनाउँछ ।
उनीहरुले पार्टीमा देखिएको अनुशासन समितिको प्रयोगलाई गुट विशेषको स्वार्थमा केन्द्रित भएको आरोप लगाउँदै यसले संगठनमा दीर्घकालीन असर पार्ने चेतावनीसमेत दिएका छन्। ‘व्यक्तिगत वा गुटगत हिसाबले अनुशासनको कारबाही चलाउने परिपाटीलाई संस्थागत मान्यता दिने हो भने पार्टीमा आन्तरिक लोकतन्त्रको ‘मृत्युघण्टी बज्ने’ उनीहरुले उल्लेख गरेका छन् ।
अनुशासन समितिले केही नेतामाथि कारबाही गर्दा यसबारे पार्टीको स्थायी समिति वा केन्द्रीय समितिमा औपचारिक छलफल नगरिएको भन्दै अन्य नेताहरुले पनि असन्तुष्टि जनाइरहेका छन्। कांग्रेस नेतृत्वले भने यो विषयमा तत्काल प्रतिकृया दिएको छैन। तर, अनुशासनसम्बन्धी विषय पार्टीभित्रको सन्तुलन र अन्तरद्वन्द्वसँग गहिरो रुपमा गाँसिएको हुँदा निकट भविष्यमा यसले पार्टीभित्र थप बहस र विवाद निम्त्याउने संकेत मिलेको छ ।
























