
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आन्तरिक विवाद चुलिएसँगै महामन्त्री धवल शम्शेर राणाको नेतृत्वमा छुट्टै भेला बसेको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देन स्वेच्छाचारी ढंगले चलेको भन्दै राणाको नेतृत्वमा इतर समूहले छुट्टै भेला गरेको हो । भेला राणाकै नक्सालस्थित सचिवालयमा गरिएको नेताहरुले बताए ।
लिङ्देनसँग असन्तुष्ट नेताहरुले उनले विधानविपरीतका कार्य गरेको, मनोमानी रुपमा संगठन चलाएको आरोप लगाएका छन् । राणासहितका नेताहरुले लिङ्देनका पछिल्ला कामकारबाही प्रक्रियासंगत नभएको भन्दै निर्वाचन आयोगलाई जानकारी गराउने तयारी गरेका छन् ।
लिङ्देनले केहीअघि सगुन सुन्दर लावतीलाई प्रवक्ताबाट बर्खास्त गरेका थिए । राजावादी आन्दोलनका संयोजक बनेका नवराज सुवेदीलाई अनुशासन समिति संयोजकबाट हटाएर उनको स्थानमा रोशन कार्कीलाई जिम्मेवारी दिइएको थियो ।
यी सबै निर्णयप्रति राणा समूहले असन्तुष्टि जनाएको छ । निर्णयलाई उक्त समूहले अवैधानिक भनेको हो । राप्रपाको विधानअनुसार केन्द्रीय समितिमा प्रस्ताव ल्याएर हटाउनु पर्ने व्यवस्था छ । त्यसैले यो अवैधानिक भएको इतर समूहको आरोप छ ।
राणा समूहको भेलामा पूर्वअध्यक्ष एवं निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, पूर्वमन्त्री तथा कार्यसम्पादन समिति सदस्य, हरिबहादुर बस्नेत, वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्री डा. धवलशम्सेर राणा, महामन्त्री कुन्तीकुमारी शाही, प्रवक्ता, सगुनसुन्दर लावती, सहायक प्रवक्ता प्रवीनकुमार थोकर तामाङ, सहायक महामन्त्री प्रेम बलायर, सहायक महामन्त्री ऋषिराज देवकोटा, सहायक महामन्त्री सौरेन्द्रबहादुर शाहलगायत ५० जनाको सहभागिता रहेको बताइएको छ ।
























