आलमलाई सफाइ दिने न्यायाधीशमाथि मोसो छ्याप्नेहरूलाई सार्वजनिक सम्मान

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २८, शनिबार १९:०१

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिने न्यायाधीशलाई कालो मोसो छ्याप्ने नेकपा बहुमत पार्टीका कार्यकर्ताहरूलाई सार्वजनिक रूपमा सम्मान गरिएको छ ।

नेकपा बहुमतले शनिबार राजधानीमा सम्मान गरको हो । पत्रकार सम्मेलनमार्फत स्थायी समिति सदस्य उदयबहादुर चलाउने ‘दीपक’को उपस्थितिमा ती कार्यकर्ताहरूलाई सम्मान गरिएको हो । चलाउनेका अनुसार गरिब र निमुखा जनताको न्यायको पक्षमा उभिएर जोखिम मोलेका कारण पार्टीले उनीहरूको साहसलाई कदर गर्दै अभिनन्दन गरेको हो ।

गत २९ जेठमा नेकपा बहुमतका कार्यकर्ताहरूले न्यायाधीशको कार्यकक्षमै पुगेर मोसो छ्यापेका थिए । न्यायाधीशहरु खुसीराम थारु र अर्जुन महर्जनमाथि मोसो छ्यापिएको हो ।

अदालतको कामकक्षमै भएको घटनापछि प्रहरीले नेकपा बहुमतका कार्यकर्ता अविनाश कुँवर, पदम मगर र गर्भू महतोलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनापछि करिब १ महिनासम्म उनीहरुलाई हिरासतमा राखिएको थियो।

हिरासतबाट रिहा भएसँगै नेकपा बहुमतले उनीहरूलाई औपचारिक कार्यक्रममार्फत सम्मान गरेको हो । पत्रकार सम्मेलनमा सो पार्टीले पछिल्लो समय राज्यका तीनै अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा ‘भ्रष्टाचार चरमचुलीमा पुगेको’ आरोप लगाएको छ । भ्रष्टाचारविरुद्ध ‘नयाँ राजनीतिक अभियान’ सञ्चालनमा रहेको दाबीसमेत पार्टीले गरेको छ।

पार्टीले मोसो दलिएको घटनालाई ‘न्यायका पक्षमा उठाइएको प्रतिरोध’को रूपमा व्याख्या गरेको छ । तर, कानुनका विज्ञ तथा मानवअधिकार क्षेत्रका व्यक्तिहरूले अदालतप्रतिको यस्तो प्रत्यक्ष आक्रमणलाई लोकतान्त्रिक मूल्य र विधिसम्मत प्रक्रियाविरुद्धको अपराध भनेर आलोचना गर्दै आएका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.