
विराटनगर । मोरङको कटहरीबाट प्रहरीले शनिबार मध्यराति ३१ क्वीन्टल (प्रतिक्वीन्टल १ सय किलोग्राम) बढी गाँजा बरामद गरेको छ । कटहरी गाउँपालिका–३ स्थित कटहरी चोकबाट ३ हजार १ सय ५० किलोग्राम गाँजा बरामद भएको हो ।
प्रहरी चौकी कटहरीबाट वरिष्ठ सई (प्रहरी वरिष्ठ नायव निरीक्षक) भीम खड्का नेतृत्वको टोलीले राति १२ बजेतिर गाँजा बरामद गरेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् । उनका अनुसार सवारीसाधनको चेकजाँचमा खटिएको टोलीले को १ ख ४५१८ नम्बरको ट्रक रोकेर खानतलासी गरेको थियो ।
खानतलासी गर्ने क्रममा ट्रकभित्र १ सय ५ बोरा गाँजा फेला परेको थियो । ‘शंकास्पद अवस्थामा आउँदै गरेको ट्रक नियन्त्रणमा लिएर खानतलासी गर्ने क्रममा १ सय ५ वटा बोरामा प्याक गरेर ल्याएको अवस्थामा गाँजा बरामद भयो,’ चुँडालले भनिन्, ‘तौल लिँदा ३ हजार १ सय ५० किलो रहेको पाइयो ।’
प्रहरीले रोक्नसाथ बन्दकोपीको बोरा लोड गरिएको ट्रक छाडेर चालक भागेका थिए । माथिबाट बन्दोकोपीको बोराले छोपेर मुनि गाँजा प्याक गरिएको बोरा राखिएको थियो । ट्रकसहित गाँजा नियन्त्रणमा लिएर फरार रहेका चालकको खोजी तीव्र पारिएको उनले बताइन् । उक्त गाँजा कसले र कहाँबाट ल्याएको हो भन्ने यकिन छैन ।
पहाडी जिल्लामा उत्पादन हुने गाँजा भारत कटाउनका लागि ल्याइएको हुनसक्ने प्रहरीको अनुमान छ । बरामद भएको गाँजा र नियन्त्रणमा लिइएको ट्रकलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान सुरु गरिएको जानकारी डीएसपी चुँडालले दिइन् ।
मोरङबाट एकैपटक ठूलो परिमाणमा गाँजा बरामद भएको यो नै पहिलो घटना हो । पछिल्लो समय मोरङबाट गाँजा बरामद हुने क्रम तीव्र बनेको छ । असार २५ गते धनपालथान गाउँपालिका–१ गदिया खोलानजिकै उखुबारीबाट ८ सय २ किलो गाँजा बरामद भएको थियो ।
गाँजाको अवैध ओसारपसार र कारोबार नियन्त्रणमा लिनका लागि मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले विशेष टोली परिचालन गरेका छन् । गाँजाको धन्दा नियन्त्रण गर्न सबैतिर निगरानी बढाएर विशेष अप्रेशन चलाइएको चिमरियाले बताए ।


























