झापामा प्रधानमन्त्रीले भने, ‘स्पेन भ्रमणबारे झुटो हल्ला फैलाइयो’

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २९, आइतबार १२:४५

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हालैको स्पेन भ्रमणबारे आलोचना गर्दै केही विरोधी र अराजक तत्वले भ्रमणको सफलतालाई ओझेल पार्न झुटा र अनावश्यक हल्ला फैलाएको बताएका छन् ।

झापाको दमक नगरपालिकाअन्तर्गत मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् । उनले भने, ‘अरू केही कुरा नपाएजस्तो गरी विरोधीहरूले ‘स्पेनमा मान्छे छाडेर आयो’ भन्ने झुट र घटिया प्रचार गरेका छन् । यस्ता प्रचारको कुनै अर्थ छैन, जवाफ दिनुपर्ने पनि आवश्यकता छैन ।’

यस्ता हल्लाले भ्रमणका उपलब्धि र नेपाललाई अन्तर्राष्ट्रिय रूपमा उभ्याउन गरिएको प्रयासको मूल्यांकन गर्न नदिने ओलीको भनाइ छ । झण्डै ४४ करोड २४ लाख रुपैयाँ लागतमा सम्पन्न भएको दमकको मदनडाँगी–ताराबारी–डिपु सडक ४.८६ किलोमिटर लामो छ ।

यो सडक विश्व बैंकको सहयोगमा नगर गौरवको आयोजनाअन्तर्गत निर्माण गरिएको हो । नेपालभरिका १७ उत्कृष्ट नगर आयोजना मध्ये यो पनि एक हो । निर्माण कार्य समयमै सम्पन्न भएकाले यसलाई नमुना आयोजना मानिएको छ ।

प्रधानमन्त्री ओलीले कार्यक्रममा सरकारको विकास अभियानलाई देशव्यापी बनाउने क्रममा यो सडक पनि एउटा महत्वपूर्ण कडी भएको बताए । ‘हामीले मेचीदेखि महाकालीसम्म विकासको लहर ल्याउने लक्ष्यसाथ अघि बढेका छौं,’ उनले भने । साथै, उनले दमकको बेलडाँगी क्षेत्रमा विशाल रंगशाला निर्माण गर्ने घोषणा पनि गरे ।

शिक्षा क्षेत्रमा भइरहेको सुधारको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हालै सञ्चालनमा ल्याइएको निःशुल्क अनलाइन कक्षाको प्रयोगले यस वर्षको एसईई नतिजामा १३ प्रतिशत सुधार आएको दाबी गरे । ‘स्वयंसेवी भावना र प्रविधिको सदुपयोगमार्फत शिक्षामा सकारात्मक परिवर्तन सम्भव छ,’ उनले भने ।

उक्त उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वमुख्यमन्त्री शेरधन राई र उद्वव थापालगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.