भिजिट भिसा प्रकरण छानबिन नभएको भन्दै रास्वपा र राप्रपाद्वारा संसद बैठक बहिष्कार

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ३०, सोमबार १३:३३

काठमाडौं । भिजिट भिसा प्रकरणमा संसदीय वा उच्चस्तरीय न्यायिक छानबिन गठनको माग सम्बोधन नभएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबारको प्रतिनिधिसभा बैठक पनि बहिष्कार गरेका छन्।

बैठक सुरु गर्न सभामुख देवराज घिमिरेले सूचना दिएलगत्तै रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुखले रास्वपाका सांसद अशोक चौधरीलाई बोल्ने अनुमति दिए। चौधरीले आफ्ना मागअनुसार छानबिन समिति गठन नहुनु आपत्तिजनक भएको बताए। उनले भने, ‘जबसम्म हाम्रो मागअनुसार समिति गठन हुँदैन, हामी विरोध जारी राख्छौं।’

राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले पनि त्यसैगरी बोले। उनले भने, ‘हामीले निरन्तर उठाउँदै आएको भिजिट भिसा प्रकरणमा विशेष छानबिन समिति गठनको माग अझै सम्बोधन भएको छैन । त्यसैले हाम्रो विरोध यथावत् रहनेछ।’

दुवै दलका सांसदहरूले आफ्नो भनाइ राखिसकेपछि सामूहिक रूपमा प्रतिनिधिसभा कक्षबाट बाहिरिए । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको स्पेन भ्रमणमा प्रतिनिधिमण्डलबाहेक अरू व्यक्तिहरू पनि भिजिट भिसामा गएका र तीमध्ये केही नफर्किएको समाचार सार्वजनिक भएपछि सो विषयमा विशेष छानबिनको माग गरेका थिए।

तर, सरकार वा संसदले हालसम्म औपचारिक समिति गठन नगरेपछि असन्तुष्टि चुलिएको छ । यसअघि रास्वपाकी सांसद सोविता गौतमले पनि प्रतिनिधिसभाको बैठकमा यस विषयमा गम्भीर ध्यानाकर्षण गराएकी थिइन्। अब रास्वपा र राप्रपाको निरन्तर दबाबपछि संसदले उक्त प्रकरणमा छानबिन अघि बढाउने वा बेवास्ता गर्ने भन्ने प्रश्नले राजनीतिक माहोल थप गर्माएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.