
काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुवै सदनको बैठक आज (मंगलबार) बस्दैछ । संसद सचिवालयका अनुसार बैठकमा सरकारका विभिन्न मन्त्रालयका महत्वपूर्ण विधेयकहरू माथिको प्रस्ताव र छलफल गर्ने कार्यसूची रहेको छ ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा सुरु हुनेछ । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसदमा पेस गर्ने तयारी गर्ने छन् । यो विधेयक सरकारको बजेट र वित्त व्यवस्थापनसँग सम्बन्धित संवेदनशील विधेयकका रूपमा लिइन्छ ।
त्यसैगरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्ने कार्यसूची छ । सो विधेयक यसअघि राष्ट्रियसभाबाट पारित भइसकेको थियो ।
प्रतिनिधिसभाकै बैठकमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले समितिको २३ औं वार्षिक प्रतिवेदन, २०८२ संसदमा पेस गर्नेछन् । त्यस्तै सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम पनि कार्यसूचीमा रहेको संसद सचिवालयले जनाएको छ ।
यता, राष्ट्रियसभाको बैठक पनि आजै १ः१५ बजे बस्नेछ । राष्ट्रियसभामा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संघीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव राख्ने तयारी छ ।
साथै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव राष्ट्रियसभामा पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।
दुवै सदनमा प्रस्तुत हुने विधेयकहरू सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन र कानुनी ढाँचाको अद्यावधिकतासँग सम्बन्धित छन् । कतिपय विधेयक वर्षौँदेखि थन्किएका अवस्थामा रहेकाले संसद सचिवालय र सरकारबीच सघन समन्वय गरी विधेयन प्रक्रिया अघि बढाउने प्रयास भइरहेको छ ।
आजको बैठकमा नयाँ विधेयक ल्याउनुका साथै प्रतिनिधिसभाबाट पारित भइ सन्देशसहित राष्ट्रियसभामा गएका विधेयकहरूमा छलफल गरिने तथा सम्बन्धित समितिहरूमा पठाउने प्रक्रियाले संसदको नियमित कामकाजलाई गति दिने अपेक्षा गरिएको छ ।
























