
काठमाडौं । भिजिट भिसा प्रकरणमा संसदीय छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (मंगलबार) पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गरेलगत्तै रास्वपा र राप्रपाका सांसदहरू उभिएर विरोध जनाएका थिए । त्यसपछि सभामुखले रास्वपाका सांसद शिव नेपालीलाई बोल्न समय दिए । नेपालीले सरकारले बारम्बारको मागलाई बेवास्ता गर्दै भिजिट भिसा प्रकरणमा कुनै समिति गठन नगरेको गुनासो गरे। उनले भने, ‘जबसम्म छानबिन समिति बनाइँदैन, हामी बैठकमा सहभागी हुँदैनौँ ।’
त्यसपछि राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई पनि सभामुखले समय दिए । शाहीले समेत सरकारले संवेदनशील विषयको बेवास्ता गर्दै जनताको शंका चिर्ने प्रयाससमेत नगरेको भनेर विरोध जारी राख्ने बताए ।
दुवै दलका सांसदहरू बोलेपछि उनीहरू बैठक कक्षबाट बाहिरिएका थिए । यही विषयलाई लिएर रास्वपा र राप्रपाले बारम्बार संसद बैठक बहिष्कार गर्दै आएका छन् ।
उनीहरूले सरकारसँग उच्चस्तरीय छानबिन समिति गठन वा संसदीय विशेष छानबिन समितिको माग गर्दै आएका छन् । तर, सत्तापक्षले उनीहरूको मागमा सकारात्मक संकेत देखिएको छैन । २ दलले भने निरन्तर दबाबमूलक रणनीति अपनाउँदै आएका छन् ।
भिजिट भिसाको नाममा युरोप तथा खाडी मुलुकहरूमा राजनीतिक संरक्षणमा नेपाली नागरिक पठाइएको तथा नियमन र पारदर्शिताको अभाव भएको एवं दलालहरू लाभान्वित भएको भन्दै सांसदहरूले संसदीय छानबिन आवश्यक रहेको बताउँदै आएका छन् । सरकार भने हालसम्म संसदीय छानबिन समिति गठन गर्ने पक्षमा देखिएको छैन ।
सत्तापक्षले भिजिट भिसा सम्बन्धी समस्या नीति र कार्यान्वयन स्तरबाट सम्बोधन हुने भन्दै विशेष समिति गठनको आवश्यकता नरहेको बताउँदै आएको छ । तर, रास्वपा र राप्रपाले उक्त विषयलाई गम्भीर सार्वजनिक सरोकारको रूपमा उठाउँदै संसदीय प्रक्रिया नै अवरुद्ध गर्ने रणनीति लिएका छन् ।
























