
संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकामा ५ सय ९३ जग्गाधनीलाई लालपुर्जा वितरण सुरु गरिएको छ । द्वन्द्वकालको समयमा चैनपुरमा रहेको नापी तथा मालपोत कार्यालयमा आगजनी हुदाँ जग्गाधनी दर्ता श्रेस्ता (मोठ)लगायतका महत्त्वपूर्ण भूमिलगत नष्ट भएका थिए ।
२०५९ वैशाख १४ गते चैनपुरमा रहेको नापी तथा मालपोत कार्यालय आगजनीबाट क्षति भएका चैनपुर नगरपालिका–९ का ५ सय ९३ जग्गाधनीलाई लालपुर्जा वितरण सुरु गरिएको विशेष नापी कार्यालय चैनपुरका प्रमुख हरिशरण नेपालले बताए । द्वन्द्वकालको समयमा तत्कालीन विद्रोही माओवादीले आगजनी गर्दा नापी कार्यालयमा रहेका सक्कल नक्सा र फिल्डबुक तथा मालपोत कार्यालयमा रहेका जग्गाधनी दर्ता श्रेस्तालगायतका महत्त्वपूर्ण भूमिलगत नष्ट भएका थिए ।
आगजनीबाट नष्ट भएका लालपुर्जा करिब २३ वर्षपछि स्थानीयले पाएका छन् । चैनपुर –९ मा व्यक्तिको लालपुर्जा ३ हजार ३५ कित्ता र सरकारी कित्ताका २ सय ९५ कित्ताको लालपुर्जा वितरण गरिएको विशेष नापी प्रमुख नेपालले बताए ।
२०७६ माघ १३ को मन्त्रिपरिषद्को निर्णयले पुनः नापजाँच गरी सोको पुनःस्थापना गर्नका लागि विशेष नापी कार्यालय चैनपुर स्थापना गरिएको हो । हाल यस कार्यालयअन्तर्गत २ वटा नापी टोलीमार्फत चैनपुर नगरपालिका क्षेत्रमा नापनक्सा तथा जग्गा दर्ताको कार्य भइरहेको छ ।
चैनपुर, पाँचखपन, मादी र धर्मदेवीसहित ४ नगरपालिकाको ६४ हजार हेक्टर क्षेत्रमा २ टोलीबाट नापी भइरहेको छ । चैनपुर नगरको ५, ७, ८, ९, १० र ११ मा नापनक्सा सकिएको विशेष नापी कार्यालय चैनपुरले जनाएको छ ।

























