
काठमाडौं । मालपोत कार्यालयका प्रमुख कुमार आचार्य घुसबापत लिएको २४ लाख ५० हजार रूपैयाँसहित पक्राउ परेका छन् । आचार्य मालपोत कार्यालय भक्तपुरका प्रमुख हुन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोलीले मंगलबार दिउँसो कार्यालयबाटै पक्राउ गरेको हो । अख्तियारले मालपोत प्रमुख आचार्यसहित कार्यालय सहयोगी टीकाराम राउतलाई पनि पक्राउ गरेको छ ।
जग्गासम्बन्धी कामको सिलसिलामा उनीहरुले घुस मागेको भन्दै परेको उजुरीका आधारमा अख्तियारले मालपोत कार्यालयमा छापा मारेको थियो । आयोगले कार्यालय प्रमुख आचार्यको २ वटा मोबाइल पनि जफत गरेको छ ।
घुसबापत लिएको रकम पनि बरामद भएको अख्तियारले जनाएको छ । पक्राउ परेकामाथि अख्तियारले थप अनुसन्धान अघि बढाएको छ ।

























