
काठमाडौं । नेकपा (एमाले)को सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी अध्यक्ष केपी शर्मा ओलीबीचको सम्बन्ध पूर्णरूपमा टकरावमा परिणत भएको विश्लेषण गर्न थालिएको छ ।
उनले एमालेभित्रै समानान्तर शक्ति निर्माणको उद्घोष गरिन् । यसलाई ओलीको एकाधिकारविरुद्ध भण्डारीले गरेको विद्रोहको रूपमा हेरिएको छ । पार्टी सदस्यता नवीकरण गरेर राजनीतिमा फर्किएको भण्डारीको घोषणालाई ओलीले अस्वीकार गर्दै जीवनभर नेतृत्व परिवर्तनको सपना नदेख्न चेतावनी दिएका थिए ।
ओलीको अस्वीकारपछि भण्डारीले समानान्तर अभियान सुरू गरेकी छन् । उनले मदन भण्डारी फाउन्डेसनको संरक्षकत्वमा संगठन र जबज (जनताको बहुदलीय जनवाद) विस्तारका लागि डोरमणि पौडेलको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरेकी हुन् ।
भण्डारी राष्ट्रपति हुँदा सचिवालयका सल्लाहकार, सचिव, पूर्वमन्त्री, राजदूत, पूर्वसचिवलगायत सहभागी उक्त समितिलाई एमालेभित्रैको वैकल्पिक शक्ति केन्द्रको रूपमा हेरिएको छ । कार्यक्रममा भण्डारीकी छोरी उषाकिरणले एमालेमा लोकतन्त्रीकरण र विचार सुदृढीकरण आवश्यक रहेको बताइन्।
भण्डारीले मंगलबार आफ्नो ‘वेबसाइट’ पनि सार्वजनिक गरेकी छन् । जसमा उनको राजनीतिक यात्रा र राष्ट्रपतिकालीन गतिविधिहरू समेटिएको छ।
एमालेको आगामी साउन २ गते बस्ने पोलिटब्युरो र ५ गतेको केन्द्रीय समिति बैठकमा भण्डारीको सक्रियताले प्रत्यक्ष असर पार्ने अनुमान छ। एमाले नेतृत्वमा अब टकराव निर्णायक चरणतर्फ उन्मुख हुँदै गएको कतिपय विश्लेषकहरु बताउँछन् ।
























