
विराटनगर । नेपाली कांग्रेसभित्र प्रभाव राम्रो जमाएका नेता बालकृष्ण खाँणले गुट फेरेको संकेत दिएका छन् । सभापति शेरबहादुर देउवाका विश्वास पात्र मानिएका पूर्वमन्त्री खाँणले विराटनगरस्थित कोइराला निवासबाट गुट फेरेको संकेत गरेका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि देउवासँग टाढिएका खाँण बुधबार बिहान कोइराला निवासमा देखिए । कोइराला निवासमा उनको उपस्थितिलाई कांग्रेसको राजनीतिमा अर्थपूर्ण रुपमा हेरिएको छ ।
पार्टीको आन्तरिक समीकरणमा प्रभाव राख्ने नेता खाँण भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि सभापति देउवासँग चिढिएका छन् । उनी देउवाकै कारण आफू पक्राउ परेको दाबी गर्छन् । सभापति देउवासँग चिढिएका खाँणले बुधबार कोइराला निवासमै पत्रकार सम्मेलन गरे ।
पत्रकार सम्मेलनमा गुट फेरेको नबताए पनि उनको उपस्थितिले कोइराला समूहका नेताहरु भने हर्षित बनेका छन् । कृष्णप्रसाद कोइराला हुँदै बीपी र गिरिजाप्रसाद कोइराला बसेको घर डाक्टर शेखर कोइरालाको भागमा परेको छ ।
डा. शेखरले कांग्रेसभित्र इतर समूहको नेतृत्व गरिरहेका छन् । सभापति देउवासँग टाढिएका खाँणले कोइराला निवकास पुगेर आफू डाक्टर शेखर कोइरालाको क्याम्पमा आएको संकेत गरेका हुन् ।
कोइराला निवासमा उनले पत्रकारहरुसँग कोइराला निवास गुटको केन्द्र नभइ साझा ‘पवित्र भूमि’ भएको दाबी गरे । नेपालको राजनीतिमा कोइराला परिवारले पुर्याएको योगदान अतुलनीय रहेको पनि स्मरण गरे ।
‘पार्टी नेता शेखर कोइराला यहाँ बस्नुहुन्छ । तर, यहाँ पहिले बीपी कोइराला, गिरीजाप्रसाद कोइराला, बुवा कृष्णप्रसाद कोइरालापनि बस्नु हुन्थ्यो’, उनले भने, ‘यहाँ सबै कोइरालालाई सम्झनुपर्छ । उहाँहरुसँग भावनात्मक सम्बन्ध छ। उहाँहरु हाम्रो लागि महामानव हो । निवासलाई पार्टीको गुटको रुपमा हेर्न हुँदैन । यो हाम्रा लागि धार्मिकस्थल गएझैँ पवित्रस्थल हो।’
खाँणले पार्टीभित्र अनुशासनको कारबाही गर्नु र कारबाहीका विषयमा कुरा उठ्नु स्वभाविक भएको बताए । ‘कुनै पनि पार्टीको जिम्मेवार निकायले एक पक्षीय वा पक्षपातपूर्ण व्यवहार गर्नु हुँदैन,’ उनले भने, ‘कांग्रेस मुलुकको ऐतिहासिक प्रजातान्त्रिक पार्टी हो । कांग्रेस कमजोर हुँदा नेता र कार्यकर्ता मात्रै हैन । मुलुकको प्रजातान्त्रिक पद्धति नै कमजोर हुनेछ।’
























