अमेरिकाबाट थप १९ नेपाली ‘डिपोर्ट’, तस्करीको गिरोहबारे चुपचाप

Share this
671shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ३२, बुधबार १३:१९
फाइल फाेटाे

काठमाडौं । अमेरिका सरकारले डिपोर्ट गरेर १९ जना नेपाली नागरिकलाई नेपाल फर्काएको छ । ‘सुनौलो भविष्य’ खोज्दै अवैध रूपमा अमेरिका छिरेका नेपालीहरु त्यहाँबाट निष्कासित भएका हुन् । उनीहरुलाई विभिन्न समयमा अमेरिकाले ‘डिपोर्ट’ गरेको छ ।

अध्यागमन विभागका अनुसार पछिल्लो केही सातामा नियमित उडानमार्फत क्रमशः १–२ जनाका दरले १९ जना नेपाली अमेरिकाबाट निष्कासित भएर स्वदेश आइपुगेका हुन् । यसअघि जेठ २५ गते मात्र अमेरिका सरकारले विशेष चार्टर्ड विमानमार्फत ३७ नेपालीलाई सामूहिक रूपमा ‘डिपोर्ट’ गरेको थियो ।

त्यसपछि अमेरिकाले अवैध रूपमा रहेका नेपालीलाई क्रमशः फिर्ता पठाउने क्रम जारी रहेको विभागका महानिर्देशक गोविन्द रिजालले जानकारी दिए । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालपछि झनै कडा बनेको अध्यागमन नीतिका कारण थुप्रै नेपालीहरू त्यहाँबाट ‘डिपोर्ट’ हुन थालेका हुन् ।

सामान्य कानुन उल्लंघनमा पनि अमेरिकाको प्रशासनिक निकायले कडाइ गरिरहेको छ । तर, नेपाल फर्काइएका अधिकांश नेपालीहरू खासगरी दक्षिण अमेरिका हुँदै भूमिगत बाटो प्रयोग गरेर अमेरिका प्रवेश गर्न खोज्ने समूहबाट थिए ।

नेपाल सरकारको अध्यागमन विभागका अनुसार ट्रम्प राष्ट्रपति बनेयता ‘डिपोर्ट’ हुने नेपालीको संख्या हालसम्म १ सय ९७ पुगेको छ । तीमध्ये धेरैले मध्यपूर्वी मुलुक, युरोप, दक्षिण अमेरिका हुँदै अमेरिकासम्मको अवैध यात्रा तय गरेका थिए ।

यसरी अमेरिका पुग्नका लागि उनीहरूले बिचौलियालाई ५० देखि ९० लाख रुपैयाँसम्म बुझाएको प्रहरीको अनुसन्धानले देखाएको छ । त्यति ठूलो रकम बुझाएर अमेरिका छिर्ने आशामा लागेका नेपालीहरू अमेरिकाबाट देशनिकालामा परिरहेका हुन् ।

यसरी ‘डिपोर्ट’ भएर आएकाहरुसँग नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले विमानस्थलमै सोधपुछ गर्छ । तर, अपेक्षित जानकारी भने प्राप्त गर्न सक्दैन । हालै चार्टर्ड विमानबाट फर्काइएका ३७ जनामध्ये कुनै पनि व्यक्तिले मानव तस्करीमा संलग्न गिरोहबारे सूचना दिन मानेनन् । बरु भोलिपल्ट फेरि भेट्ने भन्दै विमानस्थलबाटै गायब भएका उनीहरूले प्रहरीसँग दोहोर्याएर सम्पर्कसमेत गरेनन् ।

ब्यूरोका प्रमुख एसएसपी कृष्ण पंगेनीका अनुसार ‘डिपोर्ट’ भएकाहरूबाट तस्करीमा संलग्न व्यक्ति, सम्पर्कस्थल वा रकमका विषयमा जानकारी लिएर अनुसन्धान अगाडि बढाउने उद्देश्य हुन्छ । तर, पीडितहरू आफैँले उजुरी नदिएपछि अनुसन्धान गाह्रो हुने गरेको उनले बताए ।

प्रहरी स्रोतले भन्यो, ‘अवैध बाटोबाट अमेरिका पुग्ने धेरै नेपालीहरू आफ्नै गाउँघरका चिनजानको व्यक्तिबाट फसाइएका हुन्छन् । ती व्यक्तिहरू पछि फेरि अर्को मुलुक पठाइदिने आश्वासन दिन्छन् । त्यही आशामा पर्ने भएकाले ‘डिपोर्ट’ भएर फर्केकाहरूले प्रहरीलाई सूचना दिन नचाहेको हुन सक्छ ।’

यद्यपि, यस्तो मौनताले तस्करी गिरोहको जालो झन् बलियो बन्ने र अन्य नेपालीहरू पुनः फस्ने सम्भावना बढ्ने प्रहरी अधिकारीहरूको भनाइ छ । सरकारले मानव तस्करी नियन्त्रण गर्न कारबाही तीव्र पार्ने नीतिगत अठोट लिएको भए पनि पीडितको मौनता, बिचौलियाको प्रभाव र स्थानीय तहमा हुने मिलेमतोका कारण कारबाही अघि बढाउन कठिन भएको प्रहरी स्रोतले बतायो ।

स्रोतका अनुसार अहिले पनि विभिन्न मुलुकमा सयौं नेपालीहरू अमेरिका छिर्ने नाममा बिचौलियामार्फत अवैध बाटोमा लागिरहेका छन् । कानुनी सहायता रनियमनकारी संयन्त्रसँगको समन्वय बिना नै जोखिमपूर्ण यात्राको बाटो नेपालीहरुले रोजिरहेका छन् ।

अवैध तरिकाले अमेरिका पुगेकाहरु जेल पर्ने र ‘डिपोर्ट’ हुने क्रम जारी छ । प्रहरी तथा अध्यागमन विभागले भने पीडितहरूले खुलस्त विवरण दिए तिनै आधारमा मानव तस्करी गर्ने गिरोहसम्म पुग्न सजिलो हुने भन्दै सहयोगको अपिल गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.