
विराटनगर । झापाको दमकमा दुर्घटनामा परेर घाइते भएका १ जना वृद्धको मृत्यु भएको छ ।
दमक नगरपालिका–१० का ७७ वर्षीय देवबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । श्रेष्ठलाई पैदल हिँडिरहेका बेला असार २९ गते दमक–१० को जहदा टोलमा मे ७ प ३७८९ नम्बरको स्कुटरले ठक्कर दिएको थियो ।
स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई सुरुमा दमकको निम्स अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि विराट शिक्षण अस्पताल पुर्याइयो । उपचाररत अवस्थामै परिवारका सदस्यले घर फर्काएर लगेका थिए ।
अवस्था गम्भीर बन्दै गएपछि दमक अस्पतालमा भर्ना गरे । तर, उपचारकै क्रममा मंगलबार राति ८ः५८ बजेतिर मृत्यु भएको झापा प्रहरीले जनाएको छ । स्कुटर चालक तेह्रथमको म्याङलुङ घर भइ दमक–१० मा बस्ने १६ वर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।
मृतकको शवको दमकमै पोस्टमार्टम भएको छ । पोस्टमार्टमपछि छोरा सुरेशुकुमार श्रेष्ठले अन्त्येष्टिका लागि बुधबार अपरान्ह शव बुझेर लगेको प्रहरीले जनाएको छ ।

























