
विराटनगर। साउन महिनाको आगमनसँगै हरियो रंगका कपडा, चुरा, पोते र मेहेन्दीको विशेष महत्व हुन्छ । पछिल्ला दिनमा यस्ता वस्तुको महत्व झनै बढेको छ ।
विशेषगरी विवाहित महिलाहरूका लागि साउनमा मेहेन्दी लगाउने परम्परा गहिरो धार्मिक आस्था र सांस्कृतिक मान्यतासँग जोडिएको पाइन्छ । सौन्दर्यकर्मी रन्जु नायकका अनुसार मधेशी समुदायमा साउन महिनामा पतिको दीर्घायु र दाम्पत्य सम्बन्ध प्रगाढ होस् भनेर मेहेन्दी लगाउने चलन छ ।
उनी भन्छिन्, ‘हाम्रो समुदायमा साउनमा पतिका लागि, भदौमा दाजुभाइका लागि र असोजमा आफ्नो दीर्घायुको कामनासहित मेहेन्दी लगाइन्छ ।’ उनका अनुसार पहिलेको समयमा आमाहरुले परालको छानो, खप्टा, चियापत्ती र चिनी मिसाएर प्राकृतिक मेहेन्दी बनाउँथे ।
अहिले भने बजारमा पाइने केमिकलयुक्त मेहेन्दीले छालामा ‘इन्फेक्सन’को समस्या देखिन थालेको उनले बताइन् । ‘सकेसम्म अर्गानिक मेहेन्दी प्रयोग गर्नुपर्छ । ‘इन्फेक्सन’ भएमा ‘एलोभेरा’ लगाउन वा ‘आईस’ले सेक्नुपर्छ,’ उनले सुझाइन् ।
विराटनगर–१२ की खुस्बुकुमारी यादव पनि साउन, भदौ र असोज महिनामा मेहेन्दी लगाउने मधेशी समुदायको परम्परा रहेको बताउँछिन् । ‘साउनमा पतिको आयुका लागि, भदौमा माइतीको कल्याणका लागि र असोजमा आफ्नै सुख–समृद्धिका लागि मेहेन्दी लगाइन्छ,’ उनले भनिन् ।
उनका अनुसार पहिले र अहिलेको मेहेन्दी फरक छ । ‘पहिला बारीबाट पात टिपेर सिलौटामा पिसेर बनाइएको मेहेन्दी ढिलो रंग लाग्थ्यो । तर, टिकाउ हुन्थ्यो,’ उनी भन्छिन्, ‘अहिलेको मेहेन्दी छिटो रंग लाग्छ । तर, छिटै मेटिन्छ । कतिपय अवस्थामा केमिकलका कारण छालामा असर पुग्छ ।’
कोपिला भट्टराई पनि बारीमा फुल्ने तिउरीको फूल पिसेर हातमा मेहेन्दी लगाएको बाल्यकालको याद सुनाउँछिन् । ‘हामी तिउरीको फुललाई मक्करकाँची भन्ने झारसँग मिसाएर सिलौटामा पिस्थ्यौं, हातमा लगाउँथ्यौं र स्कुसको पातमा बेरेर राख्थ्यौं,’ बाल्यकालको सम्झना सुनाउँदै उनी भन्छिन्, बिहान धुँदा गाढा रंग देखिन्थ्यो । अहिले यस्तो परम्परा हराउँदै गएको छ ।’
सौन्दर्यकर्मी सायदा तब्सुम साउनमा मेहेन्दी लगाउने चलन हिन्दु धर्ममा शुभ र सगुनको प्रतीकका रूपमा लिइने गरिएको बताउँछिन् । मेहेन्दीले पति–पत्नीबीचको सम्बन्ध प्रगाढ बनाउने विश्वास रहेको बताउँदै उनले यसले शरीरलाई शीतलता दिने समेत उल्लेख गरिन् ।
उनका अनुसार, साउन महिनामा धेरै महिलालाई हातखुट्टा पोल्ने समस्या हुने भएकाले पात पिसेर बनाइएको अर्गानिक मेहेन्दीले राहत दिन्छ। तर, बजारमा पाइने मेहेन्दीमा रसायन धेरै हुने भएकाले छालाको संक्रमण र एलर्जीको जोखिम पनि उत्तिकै हुने उनको भनाइ छ ।
महेन्दीका कारण हात पोल्ने वा एलर्जीको समस्या आए तुरुन्तै पखालेर ‘एन्टिसेप्टिक’ लगाउन र गम्भीर भएमा चिकित्सकको सल्लाह उनको सुझाव छ । साउनमा मेहेन्दीले हात–खुट्टामा चिसोपन दिने, मानसिक तनाव कम गर्ने र प्रेम सम्बन्धलाई गाढा बनाउने विश्वास उनले उनले बताइन् । उनी भन्छिन्, ‘मेहन्दी परम्परा, स्वास्थ्य र सुन्दरताको प्रतीक हो ।’
मेहेन्दीले सौन्दर्यतासँगै परम्परा र आस्थाको गहिरो भाव पनि बोकेको छ । यही कारणले साउन महिनामा मेहेन्दी लगाउने परम्परा छ । तर, बजारको रसायनयुक्त मेहेन्दीले स्वास्थ्यमा पर्ने जोखिमप्रति भने सचेत रहन विज्ञहरूले सुझाव दिएका छन् ।























