‘थाकेर पनि नरोकिएको अदसाको संघर्ष’ (भिडियाे)

मुलुकी खबर
सुजता लिम्बू
clock२०८२ श्रावण १, बिहीबार १७:५५

विराटनगर । साइकलको भ्यानमा बाँधिएका चप्पलका जोरहरू टल्किँदै छन्, घाम उत्तिकै तातो छ । पसिनाका थोपा टल्किरहेका छन् । तर ती पसिना कुनै असहजताको प्रतीक होइनन्, बरु इमानदारीको गहना हुन्, जसले ६८ वर्षीय अदसा उला मियाको जीवनलाई सजाएको छ ।

विराटनगरको कोशी राजमार्गको छेउमा साइकल भ्यानमा चप्पल बेचिरहेका उनी अहिले सडकछेउको व्यापारमै सीमित छन् । एक समय थियो, जब उनी इनरुवा, दुहवी, सुन्दरहरैँचा, बेलबारी, उर्लाबारीसम्मका हटिया बजार चहार्थे । ‘पहिले त बयलगाडामा चप्पल राखेर हाट बजार घुम्थेँ, पछि साइकल लिएर जान्थेँ। अहिले उमेर भयो, रोगी छु, सक्दिन,’उनी भन्छन् ।

Advertisement

कोभिड महामारीपछि बजार जान छोडेका मिया सडकमै बसेर गुजारा गर्न थाले । आँखाको समस्या बढेपछि दुईपटक शल्यक्रिया गराएका छन्, तर अझै धमिलो देख्छन् । कहिलेकाहीँ त आँखा मात्रै होइन, जीवन नै धमिलो लाग्छ उनलाई हाँस्दै उनी भन्छन्,‘तर त्यसैभित्र उज्यालो खोजिरहन्छु।’

उनको श्रीमती पनि बिरामी छन् । दुवैलाई नियमित औषधि चाहिन्छ, तर, खर्च कहिल्यै घट्दैन ।

उनको दुखःले हुर्काएका छोराहरू छन्, तर उनीहरुकै परिवारमा हराए जस्तै । उनी चप्पलका थाक मिलाउँदै सुनाउँछन्,‘बुहारी आएपछि बाबुआमाको दुःखमा कोही साथ दिँदैनन्।’

त्यसो त उनी घरव्यवहार सहज हुन्छकी भन्ने आशमा भत्ताका लागि भन्दै वडामा पटक–पटक गए । तर, नेपाल सरकारले ७० वर्षको उमेरमा मात्रै वृद्ध भत्ता पाउने नियम लागु गराएपछि उनी निरास भएर घर फर्किएको सनुाउँछन् । उनी भन्छन्,‘७० वर्ष पुगेपछि मात्रै भत्ता मिल्ने भनेपछि आशै मरेको छ ।’

हुन त उनका लागि भत्ता पैसा मात्रै होइन, उनीहरु जस्ता जेष्ठ नागरिकलाई राज्यले सम्झिएको अनुभूति पनि हो । तर, त्यो अनुभुति पनि निरासमा छाएको उनले गफका क्रममा धेरै पटक दोहोर्याए ।

चप्पल व्यापार अदसाका हजुरबुवा र बुवाबाट हस्तान्तरण हुँदै उनीसम्म आइपुगेको हो । तर अब यो पेशा अघि बढाउने कोही छैनन्, सबै छोराहरू आफ्नै बाटो लागिसके ।

पाँच कक्षासम्म पढेका अदसा आर्थिक अभावका कारण समयमै पढाइ छोड्न बाध्य भए ।

‘पढ्न मन थियो तर घरको अवस्था हेरेर जिम्मेवारी सम्हाल्नुपर्यो,’ उनी सम्झन्छन् । तर, पढ्न नपाएको पीडा लाई उनको बुवाले व्यवसाय गर्न सिकाएको सीपले छोप्यो । ‘यो पेशा मेरो मात्रै होइन, हजुरबुवा र बुवाले गरेर हामीलाई सिकाउँदै छोडेको पेसा हो ।’ उनी गर्वका साथ भन्छन्।

चप्पल व्यापार गर्दै जीवनको उर्जाशिल उमेर पछि छोड्दै ६८ औँ बसन्तसम्म आइपुग्दा अदसाले देशका हरेक ठूला राजनीतिक परिवर्तन नियालेका छन् । पञ्चायतदेखि बहुदलीय व्यवस्था, राजा हटे, गणतन्त्र आयो, सबै रेडियो र चोकका गफबाट पनि उनले थाहा पाए । उनी भन्छन्,‘तर हाम्रो अवस्था कहिल्यै फेरिएन।’

दैनिक साइकल भ्यानमा चप्पल राखेर उनी व्यापारका लागि बिहानै सडकमा आइपुग्छन् । एक हजारदेखि पन्ध्र सयसम्मको बिक्री हुन्छ । सोही पैसाले औषधि, घर खर्च, र ऋण तिर्ने गरेको उनी सुनाउँछन् ।

अभाव, आशा र भरोसाबीच जीवन बाँचिरहेका अदसा मिया अझै पनि भन्छन्,‘टेन्सन त छ, तर पनि जीवन चलाउनु छ।’

गफैगफमा ग्राहक आउँछन्,अनि उर्जायुक्त स्वरमा उनी भन्छन्,‘ राम्रो छ, नेपालमै बनेको हो, लग्नुस् ।’

साइकलको भ्यानमा राखिएका चप्पलहरू जति घिस्रिए पनि, अदसाको आत्मसम्मान अझै नयाँ जस्तै छ ।

हिजो हटियामा भेटिएका ग्राहकहरू आज सडकको छेउको उनको पसलमा आइपुग्छन्, चप्पल हेर्न मात्रै होइन, खरिद गर्न पनि । त्यसो त उनको जीवनको संघर्ष अझै बाँकी छ ।  तर उनका मुस्कानमा आशाको उज्यालो पनि उत्तिकै छ । जहाँ जीवन जति सस्तो छ, संघर्षले कमाएको इमान त्यति नै अमूल्य ।

तपाइको प्रतिक्रिया
एमाले महाधिवेशन : विराटनगरबाट ६ जना केन्द्रीय सदस्यकाे उम्मेदवार
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि आज मतदान
पश्चिमी वायुकाे प्रभाव, कस्ताे छ आजकाे माैसम ?
बढेकाे बढ्यै डलरकाे भाउ, यस्ताे छ अन्य मुद्राकाे विनिमयदर
पेट्राेलकाे मूल्य बढ्दा डिजेलकाे घट्याे
सरकारी कार्यालय आगजनीका आरोपी छुट्दा विराटनगरमा फूलमाला र नाराबाजी, पूर्वमन्त्रीको जिम्मामा रिहा
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुस ४ देखि
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुस ४ देखि
भन्सार ऐनको प्रावधानबारे विराटनगरमा अन्तरक्रिया
भन्सार ऐनको प्रावधानबारे विराटनगरमा अन्तरक्रिया
महाधिवेशनमा चार नेताले छाडे केपी शर्मा ओलीको साथ, प्रदीप ज्ञवाली पनि रुष्ट
एमाले महाधिवेशन : ओली र पोखरेलको उम्मेदवारी दर्ता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.