
विराटनगर । कोशी प्रदेशमा राजनीतिक समीकरण फेरिएसँगै हिक्मतकुमार कार्कीको नेतृत्वमा नयाँ गठबन्धनको सरकार विस्तार भएको छ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच केन्द्रमा भएको सहमतिअनुसार कोशी प्रदेश सरकारमा नयाँ मन्त्रीहरू सहभागी भएका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको ३ बुँदे सहमति कार्यान्वयनमा आएपछि प्रदेश सरकारमा नयाँ समीकरण बनेको हो । यसअघि एमाले–कांग्रेसको गठबन्धन रहेकोमा अब एमाले र नेकपाको संयुक्त सरकार बनेको छ ।
केन्द्रमा सहमति भएपछि मुख्यमन्त्री फेरिने चर्चा चले पनि अन्ततः हिक्मतकुमार कार्कीले नै सरकारको नेतृत्वमा निरन्तरता पाएका छन् । एमाले अध्यक्ष ओलीले सुरुमा तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन चाहे पनि कार्कीको बलियो अडानपछि उनकै नेतृत्वमा नयाँ टोली सरकारमा सहभागी भएको हो ।
नयाँ गठबन्धनका तर्फबाट सोमबार ५ जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । जसमा ३ जना मन्त्री र १ राज्यमन्त्री पूर्वमाओवादी पक्षबाट र १ मन्त्री एकीकृत समाजवादी पक्षबाट रहेका छन् ।
इलामबाट निर्वाचित सांसद खिनु लङ्वा लिम्बू पर्यटन, वन तथा वातावरण मन्त्री बनेकी छन् । पूर्वएकीकृत समाजवादी पार्टीको तर्फबाट मन्त्री भएकी उनले प्रदेश सरकारमा नेकपाको नेतृत्व गरेकी छन् । उनी लगातार दुई पटक प्रदेश सांसद निर्वाचित भएकी थिइन् । सोलुखुम्बुबाट निर्वाचित गोम्बु शेर्पा आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन् । मोरङकी समानुपातिक सांसद गीता तिम्सिना सामाजिक विकास नियुक्त हुँदा जीवन आचार्यले भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी पाएका छन् । मोरङको क्षेत्र नम्बर ६ (१) बाट निर्वाचित आचार्य नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँ हुन् । सुनसरीकी समानुपातिक सांसद सपना परियार भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएकी छन् ।
नेकपा सरकारमा सहभागी भएपछि एमालेका तर्फबाट मन्त्री बनेकाहरूको जिम्मेवारीमा केही हेरफेर गरिएको छ । इन्द्रमणि पराजुलीलाई आन्तरिक मामिलाबाट स्वास्थ्य मन्त्रालय, रामप्रसाद मेहतालाई सामाजिक विकासबाट उद्योग, कृषि तथा सहकारी मन्त्रालय, उमाकान्त गौतमलाई आन्तरिक मामिला राज्यमन्त्रीबाट स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । आर्थिक मामिला मन्त्री विदुरकुमार लिङ्थेप र खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलचन पाठकको जिम्मेवारी भने यथावत् राखिएको छ ।
कांग्रेस सरकारबाट बाहिरिएपछि रिक्त रहेका मन्त्रालयहरूमा नेकपाले दाबी गरेको थियो । नेकपाले आर्थिक मामिला मन्त्रालयमा दाबी गरे पनि अन्ततः एमालेले आफूसँग रहेका केही महत्त्वपूर्ण मन्त्रालय छोडेर शक्ति सन्तुलन मिलाएको छ । नयाँ मन्त्रीहरूको नियुक्तिसँगै कोशी प्रदेश सरकारले पूर्णता पाएको छ र यसले प्रदेशको राजनीतिक स्थायित्वमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ ।

























