
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको दुई पक्षीय झडपको विषयलाई लिएर संयुक्त हिन्दु मोर्चा सुनसरीले पक्राउ परेका आन्दोलनकारीको तत्काल रिहाइ र घटनाको निष्पक्ष छानबिनको माग गरेको छ ।
मोर्चाका संयोजक कल्याण यादव (कपिल) को नेतृत्वमा जिल्ला प्रशासन कार्यालय सुनसरी पुगेको टोलीले ज्ञापन पत्र बुझाउँदै घटनाको स्वतन्त्र र प्रभावकारी छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको हो ।
मोर्चाले बुझाएको ज्ञापन पत्रमा कप्तानगन्जसँगै सुनसरीका विभिन्न स्थानमा हिन्दु समुदायमाथि भएको भनिएका हिंसा, आगजनी, कुटपिट र तोडफोडका घटनाहरूको निष्पक्ष छानबिन हुनुपर्ने उल्लेख छ । धार्मिक स्थल, मन्दिर, घर तथा पसलमा पुर्याइएको क्षतिको विवरण संकलन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन मोर्चाले जोड दिएको छ ।
‘शान्तिपूर्ण आन्दोलनमा सहभागी भएका युवाहरूलाई बिना प्रमाण र कानुनी आधार पक्राउ गरिनु न्यायसंगत छैन,’ ज्ञापन पत्रमा भनिएको छ, ‘पक्राउ परेकामध्ये निर्दोषलाई तत्काल रिहा गरियोस् र अभियोग लगाउनुपर्ने अवस्थामा पारदर्शी कानुनी प्रक्रिया अपनाइयोस् ।’
मोर्चाले सामाजिक सञ्जालमार्फत धार्मिक तथा साम्प्रदायिक द्वेष फैलाउने, धम्की दिने र हिंसा भड्काउने व्यक्तिहरूको पहिचान गरी प्रचलित कानुनअनुसार कारबाही गर्न प्रशासनसँग माग गरेको छ । चाडपर्वका समयमा भय र त्रासरहित वातावरण सुनिश्चित गर्दै हिन्दु धर्मावलम्बीमाथि हुने व्यक्तिगत वा सामूहिक प्रतिशोधको वातावरण रोक्न समेत आग्रह गरिएको छ ।
यसैबीच, मोर्चाले भोक्राहा नरसिंहको चिरौली चोकमा हिन्दु समुदायका पसलमा भएको आगजनी र त्यहाँका जनप्रतिनिधिले हिन्दुहरूलाई पलायन गराउने खालका विवादास्पद अभिव्यक्ति दिएको विषयमा पनि छानबिन गर्न माग गरेको छ ।
साउन १० गते बोल बम जान लागेका युवाहरूले मन्दिरमा ठूलो स्वरमा डिजे बजाएको विषयलाई लिएर दुई समूहबीच झडप हुँदा स्थितिले उग्र रूप लिएको थियो । उक्त हिंसात्मक घटनामा परी ३ जनाको मृत्यु भएको थियो । घटनामा घाइते भएका ६ जनामध्ये ३ जना निको भएर घर फर्किएका छन् भने ३ जनाको अझै उपचार भइरहेको छ ।



















