कोशी सरकारमा नेकपा, मन्त्रिपरिषद् पूर्ण

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १, सोमबार १७:१२
कोशी सरकारमा नेकपा, मन्त्रिपरिषद् पूर्ण

विराटनगर । नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच प्रदेश सरकार सञ्चालनमा सहकार्य गर्ने गरी भएको सहमतिअनुसार कोशी प्रदेश सरकार विस्तार भएको छ ।

नेकपा औपचारिक रूपमा सोमबार सरकारमा सहभागी भएसँगै मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकारले पूर्णता पाएको हो । नयाँ कार्यविभाजनअनुसार कोशी प्रदेशको मन्त्रिपरिषद् ११ सदस्यीय बनेको छ । जसमा मुख्यमन्त्रीसहित नौ मन्त्री र दुई राज्यमन्त्री छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री कार्कीले नयाँ नियुक्ति, हेरफेर तथा कार्यविभाजनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए ।

Advertisement

नेकपाबाट चार मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । गोम्बु शेर्पाले आन्तरिक मामिला तथा कानुन, जीवन आचार्यले भौतिक पूर्वाधार विकास, गीता तिम्सिनाले सामाजिक विकास, खिनु लङ्वा लिम्बूले पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । नेकपाबाटै सपना दर्जीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनाइएको छ ।

सरकार विस्तारसँगै एमालेबाट यसअघि जिम्मेवारीमा रहेका मन्त्रीहरूको मन्त्रालयसमेत हेरफेर गरिएको छ । यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका इन्द्रमणि पराजुलीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने सामाजिक विकास मन्त्री रहेका रामप्रसाद महतोलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ । यसअघि आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री रहेका उमाकान्त गौतमलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको छ ।

एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री रहेका विदुरकुमार लिङ्थेप र खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलचन पाठकको जिम्मेवारी भने यथावत राखिएको छ । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङ्ले पद तथा गोपनीयताको शपथ गराएका छन् । राज्यमन्त्रीहरूलाई भने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथ गराए ।

नेकपा सरकारमा सहभागी भएसँगै कोशी प्रदेशमा एमाले र नेकपा सत्ता साझेदार दल बनेका छन् । नयाँ सत्ता समीकरणअनुसार मन्त्रिपरिषद्को जिम्मेवारी टुंगिएसँगै प्रदेश सरकारले अब सरकार सञ्चालन र कार्यसम्पादनलाई अघि बढाउने बाटो खुलेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.