लेटाङ घटनाप्रति दलित महिला संघको आपत्ति

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १, बिहीबार १९:२२

विराटनगर ।  लेटाङ नगरपालिका कार्यपालिका सदस्य गंगामाया विश्वकर्मामाथि भएको सांघातिक आक्रमणप्रति दलित महिला संघ (फेडो) ले आपत्ति जनाएको छ ।

संघकी अध्यक्ष शर्मिला परियारले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सामान्य विवादको कारण देखाउँदै लेटाङ –२ का अग्निप्रसाद नेपालले गरेको आक्रमण निन्दनीय र क्षम्य नहुने अपराधको संज्ञा दिएकी छिन्।

विज्ञप्तिमा सामाजिक अभियन्ता तथा दलित अधिकारकर्मीको रूपमा रहेको बताउँदै यो घटना केवल व्यक्तिगत नभई सम्पूर्ण दलित समुदायमाथि लक्षित आक्रमण रहेको बताइएको छ ।

‘यस घटनाले समाजमा विद्यमान जातीय विभेद र महिला हिंसाको भयावह यथार्थ उजागर गरेको छ, विज्ञप्तिमा उल्लेख छ ।

घटना पूर्वनियोजित वा आवेशमा आएर गरिएको विषयमा अनुसन्धान आवश्यक रहेको बताउँदै, दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनु पर्ने माग गरेका छन् । पीडित गंगामायाको उपचारमा गम्भीर भएर लाग्नुपर्ने बताइएको छ ।

यसैबीच, मोरङ प्रहरीले घटनामा संलग्न नेपालविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गतको मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जानकारी दिएको छ। मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले म्याद थप गरेर अनुसन्धान अघि बढाएको जानकारी दिएकी छन् ।

प्रहरीका अनुसार असार १४ गते बिहान १० बजेतिर नेपाल गंगामायाको घरभित्र प्रवेशका लागि अनुमति मागेपछि गंगामायाले पिरा दिन खोज्दा नेपालले साथमा ल्याएको फलामको रड झिकेर अचानक टाउकोमा आक्रमण गरेका थिए।

रड प्रहारबाट गम्भीर घाइते भएकी गंगामायाको विराटनगरस्थित आर्या न्युरो अस्पतालमा उपचार भइरहेको छ। घटना लगत्तै भाग्न खोजेका नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.